युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मेजर जनरल मिखाइलो ड्रापतीलाई देशको सशस्त्र बलको नयाँ सेना प्रमुख (कमाण्डर-इन-चीफ) मा नियुक्त गरेका छन्।
देशमा गहिरिँदै गएको सैन्य नेतृत्वको संकट र दिनभर चलेका हल्लाबिच यो घोषणा आएको हो। कार्यवाहक रक्षामन्त्री येभेन ख्मारा र राष्ट्रपति कार्यालयका उपप्रमुख पाव्लो पलिसासँगको परामर्शमा यो निर्णय गरिएको राष्ट्रपति जेलेन्स्कीले जानकारी दिए।
साथै, उनले युक्रेनको सशस्त्र बलको जनरल स्टाफको पुनर्संरचनाबारे पनि छलफल गरेका छन्। यसअघि जेलेन्स्कीले निवर्तमान सेना प्रमुख ओलेक्जान्डर सिर्स्की र जनरल स्टाफ प्रमुख एन्ड्री हनाटोभसँग भेट गरेर भविष्यको सेवा व्यवस्था र जिम्मेवारी हस्तान्तरणबारे कुराकानी गरेका थिए।
‘म युक्रेनको बलियो फ्रन्ट-लाइन स्थितिको लागि ओलेक्जान्डर सिर्स्की र हाम्रा प्रत्येक सैनिकप्रति आभारी छु। यस प्रकारको दृष्टिकोणको लागि म मिखाइलो ड्रापतीप्रति पनि आभारी छु,’ जेलेन्स्कीले भने। उनले थपे, ‘महत्वपूर्ण बाटो पार भएको छ, युक्रेनको रक्षा जारी छ र प्रत्येक सिपाही उचित सम्मानको योग्य छ।’
जेलेन्स्कीले किभको रक्षा, खार्किभ प्रतिआक्रमण र कुर्स्क अपरेशनजस्ता युद्धकालीन प्रमुख सफलताहरू हासिल गरेको भन्दै सिर्स्कीको प्रशंसा गरे। उनले युक्रेन यो परिस्थितिबाट थप बलियो भएर निस्कने दाबी समेत गरेका छन्।
पछिल्लो समय रक्षामन्त्री पदबाट हटाइएका मिखाइलो फेडोरोभले ड्रापतीको नियुक्तिको स्वागत गर्दै यसलाई ‘ताजा हावा र नयाँ आशाको झोंका’ भनेका छन्। ४३ वर्षीय ड्रापतीले युक्रेनी युद्धभूमिका कमाण्डरहरूको युवा पुस्ताको प्रतिनिधित्व गर्छन्। उनले ड्रोन, रोबोटिक्स तथा अन्य मानवरहित प्रणालीहरूको प्रयोगलाई बढावा दिन जोड दिँदै आएका छन्। एजेन्सी
प्रकाशित: ६ श्रावण २०८३ १३:२२ बुधबार



-600x400.jpg)

