१३ श्रावण २०८३ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गाजामा इजरायली आक्रमण : ६ प्रहरीसहित १२ जनाको मृत्यु

इजरायलले पछिल्लो दुई दिनमा गाजामा गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। हमाससँग महिनौँदेखि युद्धविरामको प्रयास जारी रहे पनि गाजामा दैनिक जसो आक्रमण भइरहेका छन्।

बुधबार मध्य गाजामा भएको आक्रमणमा एकै परिवारका तीन सदस्यको ज्यान गएको अल अक्सा अस्पतालका अधिकारीहरूले बताएका छन्। त्यस्तै, मंगलबार उत्तरी गाजाको जबलिया शरणार्थी शिविरस्थित एउटा प्रहरी चौकीलाई लक्षित गरी गरिएको आक्रमणमा ६ प्रहरी अधिकारी र केही महिलासहित थुप्रै नागरिकको मृत्यु भएको छ। अस्पतालका अनुसार यस घटनामा मृत्यु हुनेहरूमा जबलिया प्रहरी स्टेशनका प्रमुख कर्नल मोहम्मद मारवान सलेम पनि रहेका छन्।

यसबाहेक, खान युनिसको पाल शिविरमा भएको बम विस्फोटमा एक पुरुष र रफाहको मुवासी क्षेत्रमा एक बालकको ज्यान गएको छ।

इजरायली सेनाले जबलियामा मारिएका प्रहरी अधिकारीहरू हमासका लडाकु भएको दाबी गरेको छ। सेनाले भनेको छ, ‘यदि प्रहरी चौकीहरू सैन्य गतिविधिमा प्रयोग भइरहेका छन् वा त्यहाँ उपस्थित व्यक्तिहरू सैन्य कार्यकर्ता हुन् भने तिनीहरू वैध निशाना हुन्।’ यद्यपि, इजरायलले उक्त चौकीमा भइरहेको सैन्य गतिविधिबारे कुनै प्रमाण पेस गरेको छैन।

यता हमासले भने आफ्ना प्रहरीहरू कानुन र व्यवस्था कायम राख्न सक्रिय रहेको बताउँदै आएको छ। संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालयले गाजाका प्रहरीमाथि इजरायलले गरेको आक्रमणको निन्दा गरेको छ। 

राष्ट्रसंघका अनुसार सन् २०२६ मा मात्रै प्रहरीमाथि कम्तीमा एक दर्जन पटक आक्रमण भएको छ, जसमा ट्राफिक व्यवस्थापन र बजारमा गस्ती गर्ने जस्ता सामान्य काममा खटिएका कर्मचारीहरू पनि परेका छन्। राष्ट्रसंघले इजरायलले प्रहरी र लडाकुबिच भेद गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरेको छ।

अक्टोबरदेखि जारी युद्धविरामको अवस्था कमजोर बनेको छ। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्धविराम लागू भएयता मात्र एक हजार १२३ भन्दा बढी मानिसको मृत्यु भइसकेको छ। अक्टोबर ७, २०२३ मा सुरु भएको यस द्वन्द्वमा हालसम्म ७३ हजार २६४ भन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु भइसकेको छ। 

युद्धविरामका बावजुद इजरायली सेना र हमासका लडाकुहरूबिच छिटपुट झडपहरू भइरहेका छन्, जसमा हालसम्म ५ जना इजरायली सैनिकको समेत मृत्यु भएको छ। एजेन्सी

प्रकाशित: ३२ असार २०८३ ११:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App