इजरायल र हमास मिस्रमा अप्रत्यक्ष वार्ताका लागि तयारी गर्दै छन्। डोनाल्ड ट्रम्पको २० बुँदे युद्धविराम योजनामाथि आधारित गाजा युद्ध अन्त्य गर्ने सम्भावित सम्झौताबारे छलफल हुने अपेक्षा गरिएको छ।यसका बाबजुद पनि इजरायली सेनाले आफ्नो बमबारी अभियान जारी राखेको छ। अल–जजिरा अरबीलाई प्राप्त स्रोतहरूका अनुसार आइतबार मात्र इजरायली सेनाको आक्रमणमा कम्तीमा २४ प्यालेस्टिनी मारिएका छन्। पीडितमध्ये चार जना शरणार्थी थिए, जसलाई रफाहको उत्तरतिरको राहत वितरण केन्द्र नजिकै गोली हानिएको थियो, नासर मेडिकल कम्प्लेक्सले जनाएको छ।
प्यालेस्टिनी समूह हमासले आइतबार भनेको थियो कि खालिल अल–हय्याको नेतृत्वमा रहेको आफ्नो टोली शर्म एल–शेख पुगेको छ र सोमबारदेखि ‘युद्धविरामको संयन्त्र, इजरायली कब्जा फौजको फिर्ती र बन्दी विनिमयबारे’ वार्ता सुरु गर्नेछ।
प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यलयका अनुसार इजरायली टोली शीर्ष वार्ताकार रोन डर्मरको नेतृत्वमा सोमबार मिस्र प्रस्थान गर्नेछ। नेतन्याहूले शुक्रबार दिएको वक्तव्यपछि गाजामा युद्धविराम हुने आशा बढेको छ। उनले भनेका थिए, ‘सबै बाँकी रहेका बन्दीहरूलाई छोडाउने सम्झौता यसै हप्ता हुनसक्छ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता तीव्र गतिमा अघि बढिरहेको बताएका छन्। “यी वार्ताहरू निकै सफल छन् र छिटो अघि बढिरहेका छन्। प्राविधिक टोलीहरू सोमबार फेरि मिस्रमा भेट्नेछन् र अन्तिम विवरण स्पष्ट पार्नेछन्,’ उनले आइतबार सामाजिक सञ्जालमा लेखे। ‘मलाई भनिएको छ कि पहिलो चरण यसै हप्ता पूरा हुनेछ, र म सबैलाई छिटो अगाडि बढ्न अनुरोध गर्दछु।’
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार भने, ‘गाजाको युद्ध अझै सकिएको छैन, यद्यपि हामी अहिले सबै बन्दीहरूलाई मुक्त गराउने नजिक पुगेका छौं।’रुबियोले मिस्रमा हुने वार्ताअघि इजरायललाई बमबारी रोक्न आग्रह गरे। उनले अमेरिकी प्रसारक सीबीएससँग भने, ‘तपाईं युद्धबीचमा बन्दीहरूलाई मुक्त गर्न सक्नुहुन्न, त्यसैले बमबारी रोकिनै पर्छ। युद्ध चलिरहेका बेला यस्तो वार्ता सम्भव हुँदैन।’ ऐजेन्सी
प्रकाशित: २० आश्विन २०८२ ०८:०० सोमबार





