२ वैशाख २०८३ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिका–इरान तनावमा ‘गेम चेन्जर’ पाकिस्तान ?

युद्ध रोक्न पाकिस्तानको सक्रियता: कूटनीतिक सफलता र संयोग

अमेरिकी राष्ट्रपति ट्रम्प र पाकिस्तानका प्रधानमन्त्री शरीफ । तस्बिर: रोयटर्स

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १३ घण्टामै इरानको विषयमा नाटकीय घोषणा गरेका छन्। अप्रिल ७ (बुधवार) साँझ ट्रम्पले ‘आजको रात इरानी सभ्यता सदाका लागि समाप्त हुनेछ’ भन्ने चेतावनी दिएका थिए। तर त्यसको भोलिपल्टै उनले दुई साताको युद्धविराम घोषणा गरे।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र फील्ड मार्शल आसिम मुनीरसँगको वार्तापछि सो निर्णय लिएको ट्रम्पले बताएका छन्।

पछिल्ला दिनमा ट्रम्पले इरानलाई निरन्तर धम्की दिइरहेका थिए भने इरान पनि झुक्न तयार थिएन। यस्तो अवस्थामा पाकिस्तान एक महत्वपूर्ण मध्यस्थका रूपमा उभियो र दुई साताको युद्धविराम सुनिश्चित गर्न भूमिका खेलेको देखिन्छ। उता, इरानका विदेशमन्त्री अब्बास अराघचीले पनि वार्तामा मध्यस्थता गरेकोमा शरीफ र मुनीरको भूमिकाको प्रशंसा गरेका छन्।

यी घटनाक्रमले मध्यपूर्वमा एक प्रभावशाली कूटनीतिक खेलाडीका रूपमा पाकिस्तान उदाउँदै गएको संकेत गर्छन्। अमेरिका र इजरायलको आक्रमणमा सयौँ मानिसको मृत्यु भएको छ भने विश्वका धेरै देश ऊर्जा संकटको जोखिममा धकेलिएका छन्।

ट्रम्पले स्वयं पाकिस्तानलाई युद्धविरामको श्रेय दिएका छन्, जसलाई पाकिस्तानको ठूलो कूटनीतिक सफलताको रूपमा हेरिएको छ।

‘पाकिस्तानको ठूलो जित’

‘पाकिस्तानले आफ्नो सबैभन्दा ठूलो कूटनीतिक सफलतामध्ये एक सफलता हासिल गरेको छ। यसले आलोचकहरूलाई पनि गलत साबित गरिदिएको छ, जसले यस्तो जटिल र जोखिमपूर्ण कार्य सम्पन्न गर्न उसको क्षमतामाथि शंका गरेका थिए। सबैभन्दा महत्वपूर्ण कुरा, यसले इरानमा सम्भावित विनाश टार्न सहयोग पुर्‍याएको छ,’ वाशिङ्टनस्थित अटलान्टिक काउन्सिलका दक्षिण एसिया विषयका वरिष्ठ फेलो माइकल कुगेलम्यानले सामाजिक सञ्जालमा लेखेका छन्।

अमेरिकन इन्टरप्राइज इन्स्टिच्युटका फेलो सदानन्द धुमेले पनि यसलाई पाकिस्तानको ठूलो कूटनीतिक उपलब्धि बताएका छन्। उनका अनुसार, इस्लामाबाद अब एक जिम्मेवार पक्षका रूपमा उदाएको छ, जसमा विश्वका शक्तिशाली देशहरूले भरोसा गर्न थालेका छन्।

कुगेलम्यानले ब्लूमबर्ग पत्रिकासँगको कुराकानीमा भनेका छन्, ‘यो पाकिस्तानका लागि दशकौँयताकै सबैभन्दा ठूलो विदेश नीतिगत सफलता हो।’

‘दबाब र वार्ता सँगसँगै’

पछिल्लो घटनाले अमेरिकाको नीतिमा पनि परिवर्तन देखिएको छ। यसअघि इरानलाई पूर्ण रूपमा नष्ट गर्ने भाषा अमेरिकाले बोलिरहेको थियो, तर ऊ अब सशर्त वार्ताका लागि तयार देखिन्छ। भारतकी पूर्व विदेश सचिव निरुपमा मेनन रावका अनुसार, युद्धविरामले अमेरिकाको लक्ष्य स्पष्ट नभएको देखाउँछ।

‘यो केवल युद्धविराम होइन, बरु अवस्थाको पुनःपरिभाषा हो। अमेरिका आफैंले सिर्जना गरेको अवस्थाबाट पछि हटेको छ। धम्कीले भरिएको समयसीमा अब वार्तामा आधारित सशर्त विराममा रूपान्तरित भएको छ। यो शक्ति मात्र होइन, सीमाको पनि स्वीकारोक्ति हो,’ उनले लेखेकी छन्।

रावका अनुसार इजरायल अहिले अस्पष्ट देखिन्छ भने इरानले रणनीतिक लचकता देखाएको छ-उसले आक्रमण पनि सह्यो, जवाफी कारबाही गर्‍यो र त्यसपछि वार्तामा प्रवेश गर्‍यो।

पाकिस्तानको भूमिकाः मध्यस्थ कि माध्यम?

निरुपमा रावका अनुसार पाकिस्तानको भूमिका प्रत्यक्ष योजनाकारको नभई ‘सञ्चार माध्यम’का रूपमा देखिएको छ।

‘पाकिस्तानले सन्देश आदान-प्रदान हुने बाटो खोल्यो, समयसीमाहरू लचक बनायो र कूटनीतिक अवसरको एउटा साँघुरो ढोका खोल्यो। यो परम्परागत अर्थमा मध्यस्थता होइन, तर यसलाई सामान्य रूपमा खारेज गर्न पनि मिल्दैन,’ उनले थपेकी छन्।

‘युद्ध समाप्त भएको छैन, बरु नयाँ चरणमा प्रवेश गरेको छ, जहाँ दबाब र वार्ता सँगसँगै अघि बढिरहेका छन्।’

पाकिस्तानको रणनीतिक सन्तुलन

इरानविरुद्धको अमेरिका-इजरायल आक्रमण पाकिस्तानका लागि सहज स्थिति थिएन। पाकिस्तानको इरानसँग ९०९ किलोमिटर लामो सीमा छ, र देशभित्र करिब २० प्रतिशत शिया मुस्लिम जनसंख्या रहेको छ। अर्कोतर्फ, पाकिस्तानको साउदी अरेबियासँग रक्षा सम्झौता पनि छ, जसले दुवै देशलाई पारस्परिक सुरक्षा जिम्मेवारीमा बाँध्छ।

विशेषज्ञहरूका अनुसार, यस्तो जटिल अवस्थामा पाकिस्तानले युद्ध रोक्न सक्रिय भूमिका खेल्नु उसको रणनीतिक आवश्यकता पनि थियो।

अन्तर्राष्ट्रिय छविमा परिवर्तन

विश्लेषक निरुपमा सुब्रमण्यमका अनुसार, पाकिस्तानको छवि पहिले नकारात्मक थियो-विशेषगरी आतंकवादसँग जोडिएको सन्दर्भमा। तर यसपटक उसले फरक भूमिका निर्वाह गरेको छ।

‘ट्रम्प प्रशासनसँगको बढ्दो निकटताले पनि पाकिस्तानलाई मध्यस्थ बन्न सहयोग पुर्‍याएको हो,’ सुब्रमण्यम भन्छिन्।

‘विन-विन’ अवस्था, तर जोखिम पनि

अमेरिकाका लागि पाकिस्तानका पूर्व राजदूत हुसैन हक्कानीका अनुसार, ‘यो पाकिस्तानका लागि विन-विन अवस्था हो-सम्झौता होस् वा नहोस्। उसले विश्वबाट अलग्गिएको छवि हटाएर केन्द्रमा रहेको छवि बनाएको छ।’

तर, पूर्व कूटनीतिज्ञ इमरान अलीका अनुसार यस्तो भूमिका जोखिमपूर्ण पनि हुन्छ, किनकि पाकिस्तानले इरान र साउदी अरेबियाबीच सन्तुलन कायम गर्नुपर्छ।

विशेषज्ञहरूको मतमा, चाहे दीर्घकालीन शान्ति स्थापित होस् वा नहोस्, पाकिस्तानले अहिलेका लागि महत्वपूर्ण कूटनीतिक सफलता हासिल गरेको छ। (बिबिसीमा आधारित)

प्रकाशित: २५ चैत्र २०८२ १८:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App