नेकपा एमालेका नेता एवं पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले सार्वजनिक गरेको ‘राष्ट्रिय प्रतिबद्धता’ मा प्रयोग गरिएका शब्द चयनमा ध्यान दिनुपर्ने बताएका छन्।
अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा प्रयोग गरिने प्रत्येक शब्दको विशेष अर्थ हुने भन्दै उनले यस्तो सुझाव दिएका हुन्। सरकारले तयार पारेको ‘राष्ट्रिय प्रतिबद्धता’ को बुँदा नम्बर १४ मा नेपाललाई ‘बफर स्टेट’ बाट ‘भाइब्रेन्ट ब्रिज’ का रूपमा रूपान्तरण गर्ने र सबैसँग ‘समदूरी र समनिकटता’ को नीति अवलम्बन गर्ने उल्लेख गरिएको छ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा प्रयोग गरिने प्रत्येक शब्दको विशेष अर्थ हुन्छ। नेपालले आफ्नो भूराजनीतिक अवस्थितिलाई कहिल्यै ‘बफर स्टेट’ भनेको छैन र छिमेकी मित्र राष्ट्रहरूले पनि यस्तो शब्द प्रयोग गरेका छैनन्। हाम्रा छिमेकीहरूबिच अनन्त दुश्मनी र द्वन्द्व पनि छैन, जसको सन्दर्भमा यस्तो शब्दको प्रयोग प्रासङ्गिक देखियोस्।’
सरकारी दस्ताबेजहरूमा भाषिक प्रयोग गर्दा पर्याप्त सावधानी अपनाउनुपर्नेमा उनले जोड दिएका छन्। ज्ञवालीले राष्ट्रिय हित र स्वतन्त्र परराष्ट्र नीतिको रक्षाका लागि कूटनीतिक सन्तुलन मुख्य कुरा भएको र बाह्य सम्बन्धका आयामहरू सन्दर्भ अनुसार फरक हुन सक्ने उल्लेख गरेका छन्।
हेर्नुस् उनको फेसबुक स्टाटस
भर्खरै सरकारले तयार गरेको ‘राष्ट्रिय प्रतिबद्धता’ को बुँदा नं १४ ‘अन्तर्राष्ट्रिय कूटनीति र परराष्ट्र सम्बन्ध’ शीर्षकमा ‘नेपाललाई ‘बफर स्टेट’ बाट ‘भाइब्रेन्ट ब्रिज’ का रूपमा रूपान्तरण गर्ने’ र ‘सबैसँग सम दूरी र सम निकटताको नीति अवलम्बन गर्ने’ विषय उल्लेख गरिएको रहेछ ।
अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा प्रयोग गरिने प्रत्येक शब्दको विशेष अर्थ हुन्छ ।
नेपालले आफ्नो भूराजनीतिक अवस्थितिलाई कहिल्यै ‘बफर राज्य’ भनेको छैन र छिमेकी मित्र राष्ट्रहरूले पनि यस्तो शब्द प्रयोग गरेका छैनन् । हाम्रा छिमेकीहरू बिच अनन्त दुस्मनी र द्वन्द्व पनि छैन, जसको सन्दर्भमा यस्तो शब्दको प्रयोग प्रासङ्गिक देखियोस् ।
यही कुरा ‘सम निकटता’ र ‘सम दूरी’ का हकमा पनि लागु हुन्छ । राष्ट्रिय हितको रक्षा, स्वतन्त्र परराष्ट्र नीति र बाह्य सम्बन्धमा सन्तुलन मुख्य विषय हो । मुद्दा, साझेदारी र सन्दर्भ अनुसार हाम्रा सम्बन्धका आयाम फरक हुन सक्छन् । त्यस अर्थमा हाम्रा सम्बन्धहरूमा सधैँभरि उही मापन र आयतन नरहन पनि सक्छ ।
सरकारी दस्ताबेजहरूमा भाषिक प्रयोगहरूमा पर्याप्त सावधानी आवश्यक हुन्छ ।
प्रकाशित: २ वैशाख २०८३ ०९:३० बुधबार





