पाकिस्तानका लागि इरानी राजदूत रेजा अमिरि मोघादामले अमेरिकाको शान्तिप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाउँदै कूटनीतिक सम्झौता कार्यान्वयन गर्ने वासिङ्टनको इच्छाशक्तिमा कमी रहेको आरोप लगाएका छन्। उनले अमेरिकी शान्ति प्रयास व्यवहारमा नभई केवल भाषणमा सीमित रहेको बताए।
समाजिक सञ्जाल ‘एक्स’ मा गरिएका शृङ्खलाबद्ध पोस्टमार्फत राजदूत मोघादामले अमेरिकी पक्षले कूटनीतिक प्रतिबद्धता पूरा गर्ने इच्छा वा नियत नदेखाएको आरोप लगाए। ‘समझदारीपत्र (एमओयू) उल्लङ्घन गर्न अमेरिकी पक्षले ६० दिन पनि कुर्न नचाहनुले कुनै पनि सम्झौता सफल बनाउन आवश्यक गम्भीरता, दृढता, इच्छाशक्ति र नियतको अभाव देखाउँछ,’ उनले लेखेका छन्।
मोघादामले अमेरिकालाई शान्ति र स्थिरताको वास्ता नगरेको आरोप लगाउँदै उसका शान्तिसम्बन्धी आह्वान केवल भाषणबाजीमा सीमित भएको दाबी गरेका छन्। राजदूतले वासिङ्टनको वास्तविक उद्देश्य सम्झौता गर्नु नभई कुनै पनि माध्यमबाट अस्थिरता सिर्जना गर्नु रहेको आरोप लगाए।
इरानप्रति अमेरिकाको विगतको नीतिको चर्चा गर्दै मोघादामले राष्ट्रपति डोनाल्ड ट्रम्पले समकालीन कूटनीतिक इतिहासका दुई महत्वपूर्ण उपलब्धि नष्ट गरेको बताए। उनले सन् २०१५ को इरान आणविक सम्झौताबाट अमेरिकाको बहिर्गमन र पाकिस्तानको मध्यस्थतामा भएको समझदारीपत्र कार्यान्वयनसम्बन्धी विवादलाई उदाहरणका रूपमा प्रस्तुत गरे।
पाकिस्तानको मध्यस्थतामा भएको उक्त समझदारी पत्रको कार्यान्वयनलाई लिएर पुनः तनाव बढिरहेका बेला इरानी राजदूतको यस्तो भनाइ आएको हो। यस विषयमा अमेरिकी पक्षले भने हालसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएको छैन।
प्रकाशित: ३ श्रावण २०८३ १४:२७ आइतबार





