जापान भ्रमणका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले दिएको आक्रामक अभिव्यक्तिविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले काउन्टर दिएका छन्।
सांसद सुनारले सामाजिक सञ्जालमार्फत शाहीको शैक्षिक पृष्ठभूमि र जापान भ्रमणका गतिविधिमाथि व्यङ्ग्य प्रहार गरेका हुन्।
सांसद सुनारले शाहीलाई लक्षित गर्दै सामाजिक सञ्जालमा लेखेका छन्-
‘भारत गएर आधा सिए (C.A)
जापान गएर आधा पिए !
नेपालमा राजाको कुरा,
जापान पुगेर गाँजाको कुरा !!’
उनले अगाडि लेखेका छन्, ‘देख्यौं हैन जापानी तरक, यही साथी जाँड खाने र नखानेमा फरक !!!’
सुनारको यस प्रहारसँगै सामाजिक सञ्जालमा दुवै पक्षका समर्थकबीच आरोप-प्रत्यारोप तीव्र बनेको छ।
जापानमै रहेका दुवै सांसद एउटै कार्यक्रममा अतिथि बनेर पुगेका बेला विवादको बीजारोपण भएको थियो। उक्त कार्यक्रममा बोल्दै राप्रपा सांसद शाहीले रास्वपा सांसद सुनारमाथि कटाक्ष गर्दै आफूले केवल नमस्कार मात्र नगरी गृहमन्त्रीसँग आँखा जुधाएर र औँला ठड्याएर कुरा गर्ने बताएका थिए।
त्यसपछि रास्वपा समर्थकहरूले शाहीविरुद्ध सामाजिक सञ्जालमा मोर्चाबन्दी कसेका थिए।
आफूविरुद्ध सुनियोजित प्रहार भएको भन्दै आक्रोशित बनेका राप्रपा सांसद शाहीले फेसबुक लाइभमार्फत आपत्तिजनक शब्दहरूको प्रयोग गरेका थिए।
उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई गँजेडीको ग्याङ, गृहमन्त्री सुधन गुरुङलाई टीओबी ग्याङको नाइके र रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगको ग्याङ भनेका थिए। साथै, रास्वपा समर्थकहरूलाई सडक छाप र खरानी ग्याङ भनेका थिए।
सांसद शाहीको उक्त अमर्यादित भाषाप्रति रास्वपाका अर्का सांसद राजु पाण्डेले पनि असन्तुष्टि जनाएका छन्। उनले शाहीलाई सार्वजनिक रूपमा पद र मर्यादाको ख्याल गर्न तथा देशको लोकतान्त्रिक प्रणालीको सम्मान गर्न सुझाव दिएका छन्।
यता, राप्रपाले भने आफ्ना सांसदहरूको बचाउ गरेको छ। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले संसदमा जनताका मुद्दा उठाउने सांसद ज्ञानेन्द्र शाही र प्रमुख सचेतक खुस्बु ओलीमाथि योजनाबद्ध र संगठित रूपमा अभद्र साइबर बुलिङ भइरहेको भन्दै आपत्ति जनाएका छन्।
तीव्र आलोचना भएपछि सांसद शाहीले आफ्नो लाइभ भिडियो हटाएका छन्। यद्यपि, उनले आफ्नो बचाउ गर्दै रिसमा वेद पढिँदैन भन्दै पुनः सामाजिक सञ्जालमा कविता लेखेर जापानको रक्सी कडा भएको र खाँदै नखाएको रक्सी लागेको भन्दै व्यङ्ग्य गरेका छन्।
उस्तो छ उनको कविता-
जापानको रक्सी पनि कडा रहेछ !
वर्षौँदेखि मनमा लुकाउन खोजेका केही सत्य कुरा पनि मुखबाट फुत्त निस्किएछन्। जति लुकाउन खोजे पनि सत्य त लुक्दो रहेनछ।
सहकारी ठगलाई ठग नै भनिएछ।
गँजडि ग्याङलाई गाँजडी ग्याङ नै भनिएछ।
खराने ग्याङलाई खराने ग्याङै भनिएछ।
टीओबी ग्याङलाई टीओबी ग्याङ नै भनिए छ।
नोट. :(खाँदै नखाएको रक्सी पनि लागेछ! )
ल, विश्वभरिका बेरोजगार केटाहरू हो !
आज तिमीहरूको डलर टन्नै झर्छ
जति रोस्ट गर्न मन छ, गर।
जति स्टाटस लेख्न मन छ, लेख।
आज त कन्टेन्टको कमी छैन, पैसा पनि राम्रै
राम्रै कमाइ हुन्छ। नेपाल जाने भाडा पनि मलाई जुटाइदेऊ है, केटा हो !
प्रकाशित: ३ श्रावण २०८३ २१:१२ आइतबार





