कास्कीको पोखरामा श्रृंखलावद्ध चोरीका घटनामा संलग्न एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले चोरीमा संलग्न दुई चिनियाँ र दुई भारतीय नागरिकसहित ९ जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा चीनको गुइझोउ घर भएका ३० वर्षीय वेन जी, शानडोङ घर भएका ३७ वर्षीय वाङ लियानयिन, भारत उत्तर प्रदेशका २३ वर्षीय राहुल निषाद र महाराष्ट्रका ४० वर्षीय सोमनाथ हनुमन्त जाधव रहेका छन्।
यस्तै, चोरीमा संलग्न नेपाली नागरिकहरू स्याङ्जाका ४२ वर्षीय राजकुमार विक, कास्कीका ५० वर्षीय राजु केसी भन्ने खिम बहादुर क्षेत्री, ५१ वर्षीय केशव पाइजा मगर, अर्घाखाँचीका २९ वर्षीय अशोक पोख्रेल र बागलुङका २७ वर्षीय अनिल विक रहेका छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार यस गिरोहले पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा श्रृंखलावद्ध चोरी गरेको खुलेको छ। उनीहरूले गत असार ४ गते पोखरा–१७ छोरेपाटनस्थित शिव प्रसाद बरालको घरबाट सुनका गहना, नगद १ लाख ५० हजार रुपैयाँ र ल्यापटप चोरी गरेका थिए।
यस्तै, असार १४ गते पोखरा–१८ मणिमार्गका हेमराज गिरीको घरबाट २५ तोला सुन र ७० हजार नगद, असार १५ गते भकुण्डेका गिरोधारी श्रेष्ठको घरबाट १ तोला ५४ लाल सुन र असार २३ गते पोखरा–८ का मोहसेन खातमीको कोठाबाट २५ हजार नगद तथा लेकसाइडका हिरामणि लामिछानेको घरबाट मोबाइल चोरी गरेको अनुसन्धानबाट खुलेको छ।
प्रहरीले अभियुक्तहरूको साथबाट ५ थान सुनको ढिक्का, ५ थान सुनको टुक्रा, २ लाख १ हजार २ सय २० रुपैयाँ नगद, ९ थान मोबाइल, १ थान स्मार्ट घडी र १ थान ल्यापटप बरामद गरेको छ।
पक्राउ परेका सबै अभियुक्तहरूविरुद्ध जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा म्याद थप अनुमति लिई प्रहरीले थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ।
प्रकाशित: ३ श्रावण २०८३ २०:५७ आइतबार





