धान रोपाइँको मुख्य सिजन चलिरहेका बेला नेपालमा भोलि (साउन ४ गते) १ हजार २५० मेट्रिक टन डीएपी मल आइपुग्ने भएको छ।
कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार ग्लोबल टेन्डरमार्फत खरिद गरिएको ३० हजार मेट्रिक टन डीएपी मल भारतको कोलकाता बन्दरगाहमा गत जुलाई १० मा आइपुगेको थियो। त्यसमध्ये पहिलो चरणमा १ हजार २५० मेट्रिक टन मल साउन १ गते नेपालतर्फ ढुवानी सुरु गरिएको थियो, जुन भोलि वीरगञ्ज नाका हुँदै नेपाल भित्रिनेछ।
कम्पनीका अनुसार बाँकी डीएपी मलको प्याकेजिङ (ब्यागिङ) कार्य कोलकाता बन्दरगाहमा जारी छ। प्याकेजिङ सम्पन्न भएसँगै आज अर्को रेल रेकमार्फत मल वीरगञ्जतर्फ पठाइएको छ भने बाँकी परिमाण पनि चरणबद्ध रूपमा नेपाल भित्र्याइने तयारी गरिएको छ।
यसैबीच, ३० हजार मेट्रिक टन युरिया मल पनि कोलकाता बन्दरगाहमा आइपुगेको कम्पनीले जनाएको छ। हाल उक्त मल अनलोडिङ र ब्यागिङको प्रक्रियामा रहेको तथा भोलिदेखि पहिलो रेल रेकमार्फत वीरगञ्जका लागि ढुवानी सुरु गर्ने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ।
सरकारले रोपाइँको समयमा मलको अभाव हुन नदिन डीएपी र युरिया दुवै मलको आपूर्ति तीव्र बनाइएको जनाएको छ।
प्रकाशित: ३ श्रावण २०८३ २१:२१ आइतबार





