२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानद्वारा कतार, युएई र बहराइनस्थित अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र प्रहार

अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि इरानले कडा प्रत्याक्रमण सुरु गरेको छ। इरानले कतार, बहराइन, कुवेत र संयुक्त अरब इमिरेट्स (युएई) मा रहेका अमेरिकी सैन्य ठेगानाहरूलाई निशाना बनाएको छ। इरानको रिभोलुसनरी गार्ड (आईआरजीसी) ले इजरायलतर्फ पनि ठुलो संख्यामा क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको पुष्टि गरेको छ।

बहराइन सरकारले आफ्नो देशमा रहेको अमेरिकी नौसेनाको ‘पाँचौँ फ्लीट’ को मुख्यालयमा इरानले मिसाइल आक्रमण गरेको पुष्टि गरेको छ। कतारको रक्षा मन्त्रालयले पनि आफ्नो ‘प्याट्रियट डिफेन्स सिस्टम’ ले इरानले प्रहार गरेका क्षेप्यास्त्रहरूलाई आकाशमै नष्ट (इन्टरसेप्ट) गरेको जनाएको छ। उता, युएईको राजधानी अबुधाबीमा ठुलो विस्फोट भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

तनाव उत्कर्षमा पुगेपछि कतार, कुवेत र युएईले आफ्ना हवाई क्षेत्रहरू पूर्ण रूपमा बन्द गरेका छन्। यसअघि नै इराक र इजरायलले पनि आफ्नो उडान सेवा बन्द गरिसकेका थिए। इरानले यो कदम अमेरिका–इजरायलको ‘अपराध’ को जवाफ भएको बताएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमा ‘बृहत् युद्धकारबाही’ जारी रहेको र यसको उद्देश्य अमेरिकी जनताको रक्षा गर्नु रहेको दोहोर्‍याएका छन्। इरानले भने आफ्ना राष्ट्रपति मसुद पेजेस्कियन सुरक्षित रहेको भन्दै शत्रुलाई उचित जवाफ दिने चेतावनी दिएको छ।

प्रकाशित: १६ फाल्गुन २०८२ १५:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App