२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

खाडी देशसँग माफी माग्दै इरानद्वारा आक्रमण नगर्ने घोषणा, राख्यो यस्तो सर्त

मध्यपूर्वमा जारी युद्ध दोस्रो हप्तामा प्रवेश गरिरहेका बेला इरानले इजरायल र संयुक्त राज्य अमेरिकासामु कहिल्यै आत्मसमर्पण नगर्ने अडान दोहोर्‍याएको छ। इरानका राष्ट्रपति मसुद पेजेस्कियानले राष्ट्रलाई सम्बोधन गर्दै बाह्य दबाबका बीच पनि संघर्ष जारी राख्ने बताए।

सरकारी टेलिभिजनबाट प्रसारित भाषणमा राष्ट्रपति पेजेस्कियानले इरानमाथि आक्रमण गर्नेहरूले इरानी जनतालाई झुकाउन सकिन्छ भन्ने सोच्नु गलत हुने टिप्पणी गरे। उनले भने, ‘इरानका शत्रुहरूले इरानी जनताले आफ्नो चिहानमै गएर मात्र बिना शर्त आत्मसमर्पण गर्ने इच्छा राख्नुपर्छ भन्ने कुरा बुझ्नुपर्ने छ।’

फेब्रुअरी २८ मा इजरायल र संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध सैन्य आक्रमण सुरु गरेपछि क्षेत्रीय तनाव तीव्र बनेको थियो। सो आक्रमणमा सर्वोच्च नेता आयातुल्ला अली खामेनी मारिएपछि इरानमा तीन सदस्यीय अन्तरिम नेतृत्व परिषद् गठन गरिएको छ, जसमा पेजेस्कियान पनि सदस्य छन्।

खामेनीको हत्यापछि इरानले प्रतिक्रिया स्वरूप खाडी क्षेत्रका इजरायली तथा अमेरिकी लक्ष्यहरूमा मिसाइल र ड्रोन आक्रमण गरेको छ। इरानी नौसेनाले ‘ठुलो लहर’ मा आक्रमण गर्दै अमेरिकी सैन्य अड्डा तथा इजरायलका रणनीतिक स्थानहरूलाई निशाना बनाएको दाबी गरेको छ। इरानी सञ्चार माध्यमका अनुसार संयुक्त अरब इमिरेट्सको अल–मिन्हाद र अल–धाफ्रा हवाई अड्डा तथा कुवेतस्थित अमेरिकी सैन्य अड्डालाई लक्ष्य बनाइएको छ। क्रान्तिकारी गार्डले अमेरिकी वायुयुद्ध केन्द्र, उपग्रह सञ्चार केन्द्र र रडारहरूमा क्षति पुर्‍याएको जनाएको छ।

यसैबीच, राष्ट्रपति पेजेस्कियानले इरानको कारबाहीबाट प्रभावित छिमेकी देशहरूसँग क्षमायाचना गरेका छन्। उनले आफ्नो र देशको तर्फबाट माफी माग्दै इरानले छिमेकीहरूलाई लक्षित गर्ने नीति नअपनाउने स्पष्ट पारे। उनका अनुसार खाडी देशको भूमि प्रयोग गरेर इरानमाथि आक्रमण नभएमा तेहरानले अब हमला गर्नेछैन्। उनले अन्तरिम नेतृत्व परिषद्ले छिमेकी राष्ट्रहरूबाट इरानमाथि आक्रमण नभएसम्म ती देशतर्फ मिसाइल प्रहार नगर्ने निर्णय गरेको जानकारी उनले दिए। एजेन्सी 

प्रकाशित: २३ फाल्गुन २०८२ २२:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App