१ श्रावण २०८३ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारत : सुरुङ मार्गमा पहिरो जाँदा चार जनाको मृत्यु, १० घाइते

भारत, केरलाको वायनाडस्थित मेप्पडी नजिकै कल्लाडीमा मंगलबार बिहान गएको पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ। 

मलप्पुरम-वायनाड सुरुङ परियोजनाको निर्माणस्थलमा खसेको ठूलो भग्नावशेषमा पुरिएका अन्य चार जना अझै बेपत्ता छन्। घटनास्थलबाट १० जनालाई घाइते अवस्थामा उद्धार गरी अस्पताल लगिएको छ।

जिल्ला प्रशासनका अनुसार उद्धार गरिएका घाइतेहरूको विम्स अस्पतालमा उपचार भइरहेको छ। भारी वर्षा र बाक्लो हिलोका कारण उद्धार कार्यमा गम्भीर कठिनाइ भइरहेको छ। सुरक्षाका लागि सोमबारदेखि नै सुरुङ निर्माणको काम रोकिएको थियो।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरी, एनडीआरएफ र स्थानीय उद्धार टोलीहरूले जेसीबी मेसिनको प्रयोग गरी भग्नावशेष हटाउने र बेपत्ताहरूको खोजी गर्ने कार्यलाई तीव्र बनाएका छन्।

कांग्रेस नेता प्रियंका गान्धीले युडीएफ कार्यकर्ताहरूलाई उद्धार कार्यमा सहयोग गर्न आह्वान गरेकी छिन्। उनले भनिन्, ‘प्रशासनको दिशानिर्देशहरू कडाइका साथ पालना गर्दै सबै सम्भव सहयोग प्रदान गर्नुपर्छ।’

मौसम विभागले वायनाड र कोझिकोडमा अति भारी वर्षाको चेतावनी दिँदै 'रेड अलर्ट' जारी गरेको छ। प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ र चुलिक्का सरकारी विद्यालयमा राहत शिविर खोलिएको छ।

वायनाडमा दुई वर्षअघि सबैभन्दा खराब पहिरो गएको थियो। उक्त प्रकोपमा चार सयभन्दा बढी मानिसहरूको मृत्यु भएको थियो।

प्रकाशित: २३ असार २०८३ १७:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App