अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्यारिफको विषयमा भारत र रुसको तर्फबाट आउने प्रतिक्रियाले आफूलाई कुनै फरक नपार्ने बताएका छन्।
बिहीबार ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा लेखे, 'भारतले रूसलाई के गर्छ मलाई मतलब छैन। यदि तिनीहरू आफ्नो भत्किरहेको अर्थतन्त्रलाई सँगै डुबाउन चाहन्छन् भने तिनीहरूलाई त्यसो गर्न दिनुहोस्। मलाई मतलब छैन।'
यसअघि बुधबार ट्रम्पले अगस्ट १ देखि भारतबाट अमेरिका आउने सबै सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका थिए।
उनले रुसबाट हतियार र तेल खरिद गर्दा भारतमाथि थप आयात शुल्क लगाउने बारेमा पनि कुरा गरेका छन्।
'हामीले भारतसँग धेरै कम व्यापार गरेका छौं किनभने उनीहरूको शुल्क धेरै उच्च छ, जुन विश्वमै सबैभन्दा उच्च हो। त्यसैगरी, रुस र अमेरिकाबीच लगभग कुनै व्यापार छैन र त्यो ठीक छ,' उनले भने।
ट्रम्पले थप लेख्दै भने, 'रसियाका असफल पूर्वराष्ट्रपति मेदवेदेव, जो अझै पनि आफूलाई राष्ट्रपति ठान्छन्, उनलाई उनका शब्दहरूमा ध्यान दिन भन। उनी धेरै खतरनाक जमिनमा पाइला चालिरहेका छन्!' एजेन्सी
प्रकाशित: १५ श्रावण २०८२ १४:३५ बिहीबार





