२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पलाई निशाना बनाएर हिल्टनमा भएको गोलीकाण्डले सम्झायो ४५ वर्ष पुरानो ‘हिंक्ली हिल्टन’ घटना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदलाई ‘खतरनाक जागिर’ को रूपमा टिप्पणी गरेका छन्।

स्थानीय समय अनुसार शनिबार राति वासिङ्टन हिल्टन होटलमा आयोजित ह्वाइट हाउस संवाददाताहरूको वार्षिक रात्रिभोज कार्यक्रमका क्रममा गोली चलेपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। 

आफूविरुद्धको राजनीतिक हिंसाका बारेमा सोधिएको प्रश्नमा ट्रम्पले ठट्टा गर्दै भने, ‘यदि मलाई राष्ट्रपति पद यति खतरनाक छ भन्ने थाहा भएको भए सायद म चुनावमा भाग लिने थिइनँ।’ तर पछि गम्भीर हुँदै उनले थपे, ‘यो कामको एक भाग हो। यो खतरनाक छ, तर म देशलाई माया गर्छु र हामीले गरेको काममाथि मलाई गर्व छ।’

प्रहरी र एफबीआईले क्यालिफोर्नियाको टोरेन्सका ३१ वर्षीय कोल थोमस एलेनलाई संदिग्धका रूपमा पहिचान गरेका छन्। उनले हतियारसहित आक्रमण गरेका थिए। एफबीआईका अनुसार उनले सटगन, ह्यान्डगन र धेरै चक्कुहरू प्रयोग गरेका थिए। 

गोलीको आवाज सुनेलगत्तै गोप्य सेवाका एजेन्टहरूले राष्ट्रपति ट्रम्प, प्रथम महिला मेलानिया ट्रम्प र उपराष्ट्रपति जेडी भान्सलाई मञ्चबाट तत्काल बाहिर निकालेका थिए।

ट्रम्पले सुरक्षाकर्मीहरूको प्रशंसा गर्दै भने, ‘एक व्यक्तिले हतियारसहित आक्रमण गरे पनि कानून प्रवर्तन निकायले निकै छिटो र साहसिक प्रतिकार्य गरे।’ गोलीबारीका क्रममा गोप्य सेवाका एक एजेन्ट घाइते भएका छन्। नजिकबाट गोली लागे पनि बुलेटप्रुफ भेस्टका कारण उनको ज्यान जोगिएको ट्रम्पले बताए। कार्यक्रममा उपस्थित पत्रकारहरूका अनुसार ५ देखि ८ पटक गोलीको आवाज सुनिएपछि पाहुनाहरू टेबलमुनि लुकेका थिए।

ट्रम्पले घटनालाई अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण भन्दै यस्ता हिंसाले देशलाई त्रसित बनाउन नसक्ने दाबी गरे। उनले सुरक्षाको कारण देखाउँदै ह्वाइट हाउसभित्रै नयाँ ‘ड्रोन प्रुफ’ र ‘बुलेटप्रुफ’ बलरूम निर्माण गर्नुपर्नेमा जोड दिए। 

साथै, ‘यो होटल खासै सुरक्षित छैन’ भन्दै ह्वाइट हाउसमा ठूलो र सुरक्षित बलरूम बनाउने पुरानो योजनालाई तीव्रता दिनुपर्ने बताए। स्थगित गरिएको यो रात्रिभोज आगामी ३० दिनभित्र फेरि आयोजना गर्ने उनले वाचा गरेका छन्।

कार्यवाहक महान्यायाधिवक्ता टोड ब्लान्चेले अनुसन्धान जारी रहेको र संदिग्धमाथि कडा मुद्दा चलाइने बताएका छन्। एफबीआईले यसलाई ‘एक्लो ब्वाँसो’ ले गराएको आक्रमण हुन सक्ने अनुमान गरेको छ।

रोचक कुरा के छ भने, यो घटना भएको वासिङ्टन हिल्टन होटलमै ४५ वर्षअघि सन् १९८१ को मार्च ३० मा तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनमाथि पनि गोली प्रहार भएको थियो।

जोन हिंक्ली जुनियरले रेगनलाई ६ वटा गोली प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए। रेगनलाई जर्ज वासिङ्टन विश्वविद्यालय अस्पताल पुर्‍याएइउको थियो। सोही अस्पतालमा उनको शल्यक्रिया गरियो।

हिंक्लीलाई घटनास्थलमै पक्राउ गरिएको थियो। तर पछि पागलपनको कारण देखाउँदै निर्दोष साबित गरिएको थियो। तत्कालीन ४० औँ राष्ट्रपति रेगनको पछि ९३ वर्षको उमेरमा सन् २००४ मा निधन भएको थियो।

शनिबार रातिको घटनाले पुनः सोही ऐतिहासिक स्थानको सम्झना गराएको छ। अहिले होटल र आसपासको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। एजेन्सीको सहयोगमा

प्रकाशित: १३ वैशाख २०८३ १०:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App