दिल्लीमा जारी राजनीतिक गतिरोध अन्त्य गर्न सरकार र ककरोच जनता पार्टी (सीजेपी) बिच आज नेपाली समय अनुसार दिउँसो १२:४५ बजे (स्थानीय समय १२:३० बजे) दोस्रो चरणको वार्ता हुने भएको छ।
यसअघि केन्द्रीय स्वास्थ्यमन्त्री जेपी नड्डाको निवासमा भएको पहिलो चरणको वार्ता निष्कर्षमा पुग्न सकेको थिएन। त्यसयता सरकार र सीजेपीबिचको सम्बन्ध खराब बन्दै गएको थियो। सरकारले यसअघि सीजेपीलाई वार्ताका लागि चार पटक आमन्त्रण गरे पनि उनीहरू उपस्थित भएनन्। सीजेपी केन्द्रीय मन्त्री जेपी नड्डाको निवासमा नभई तटस्थ स्थानमा मात्र वार्ता हुनुपर्ने अडान राख्दै आएको थियो। सोही अडानस्वरूप आजको वार्ता तटस्थ स्थल मानिएको कन्स्टिट्यूशन क्लबमा हुन लागेको हो।
सामाजिक कार्यकर्ता सोनम वाङ्चुकले २६ औं दिनमा आफ्नो आमरण अनशन तोडेपछि यो वार्ता हुन लागेको हो। केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहले मेदान्त अस्पताल पुगेर उनलाई जुस खुवाएपछि उनले अनशन अन्त्य गरेका हुन्। वाङ्चुकले अनशन तोडेसँगै सरकारले उनका केही प्रमुख मागहरूप्रति सकारात्मक प्रतिक्रिया दिएको छ।
मन्त्री नड्डाले वाङचुकसमक्ष सरकारका निर्णयहरू पढेर सुनाएका थिए। सरकारले जन्तरमन्तरमा शान्तिपूर्ण प्रदर्शन गर्नेहरू र जुलाई २० मा ‘संसद् चलो’ मार्चमा सहभागी भएका विद्यार्थीहरूविरुद्ध कुनै पनि मुद्दा दर्ता नगर्ने प्रतिबद्धता जनाएको छ।
यसका साथै, हालैका घटनाहरूमा ज्यान गुमाएका विद्यार्थीका परिवारलाई उचित क्षतिपूर्ति दिने र पेपर चुहावट तथा परीक्षा प्रणालीमा जवाफदेहिता सुनिश्चित गर्न संसदमा गम्भीर बहस चलाउने कुरामा सरकार सकारात्मक देखिएको छ।
वार्ताको पूर्वसन्ध्यामा सीजेपीले सरकारमाथि दबाब बढाउँदै देशव्यापी विरोध प्रदर्शनको घोषणा गरेको छ। सीजेपीका संस्थापक अभिजीत दिपके र प्रवक्ता आशुतोष राँकाले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा नदिएसम्म जन्तरमन्तरमा विरोध प्रदर्शन जारी रहने प्रस्ट पारेका छन्।
प्रवक्ता राँकाले भने, ‘सरकार हाम्रो अत्यधिक दबाबमा छ, जसका कारण प्रधानमन्त्रीले राति अबेर भिडियो जारी गर्नुपर्यो। मन्त्रिपरिषद्का निर्णयहरू र प्रधानमन्त्रीको भिडियोले मात्र हामी पछि हट्ने छैनौँ। शिक्षामन्त्रीको राजीनामा नभएसम्म हाम्रो संघर्ष रोकिनेछैन।’
प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार राति जारी गरेको भिडियो सन्देशमा पेपर चुहावटसम्बन्धी कडा कानुन ल्याइने र दोषीहरूलाई सजाय दिन फास्ट-ट्र्याक अदालतहरू स्थापना गरिने बताएका थिए। आज मोदीको अध्यक्षतामा बस्ने केन्द्रीय मन्त्रिपरिषद्को बैठक दिउँसो १:१५ बजे संसद् भवन, नयाँ दिल्लीमा बस्दैछ।
साथै, अनशन तोडेका वाङ्चुकको स्वास्थ्य लाभको कामना गर्दै उनले चिकित्सकको सल्लाह पालना गर्न आग्रह गरेका छन्।
यसैबिच, विपक्षी दलका शीर्ष नेताहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। कांग्रेस नेता मल्लिकार्जुन खड्गेले संसद्को अधिवेशन चलिरहेको अवस्थामा प्रधानमन्त्रीले बाहिर एकतर्फी भिडियो जारी गर्नुको सट्टा संसद् भवनभित्रै जवाफ दिनुपर्ने बताए।
कांग्रेसकी वरिष्ठ नेतृ सोनिया गान्धीले मोदी सरकारले विद्यार्थीहरूको जायज आवाजलाई कायरता र क्रूरतापूर्वक दबाउन खोजेको आरोप लगाइन्।
लोकसभामा प्रतिपक्षी दलका नेता राहुल गान्धीले शिक्षामन्त्रीको राजीनामा, लाठीचार्ज गर्नेहरूमाथि कारबाही र पीडित विद्यार्थीहरूसँग माफी माग्नुपर्ने तीनबुधे माग राख्दै प्रधानमन्त्रीको भिडियोले आन्दोलन नरोकिने स्पष्ट पारेका छन्।
विरोध प्रदर्शनलाई मध्यनजर गर्दै दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ। दिल्ली मेट्रो रेल कर्पोरेसनले राजीव चौक, लोक कल्याण मार्ग, मन्डी हाउस, केन्द्रीय सचिवालयलगायत १७ वटा प्रमुख मेट्रो स्टेसनहरू अर्को सूचना नभएसम्मका लागि बन्द गरेको छ।
यद्यपि, मुख्य इन्टरचेन्ज स्टेसनहरूमा भने सीमित रूपमा आवागमन खुला राखिएको छ। जन्तरमन्तरमा लगाइएको इन्टरनेटको बन्देजविरुद्ध दायर रिटमा दिल्ली उच्च अदालतमा आज सुनुवाइ हुँदैछ।
यसअघि शिक्षा मन्त्रालयमा ठूलो प्रशासनिक फेरबदल गर्दै सरकारले उच्च शिक्षा विभाग र स्कुल शिक्षा तथा साक्षरता विभागका सचिवहरूलाई फेरिसकेको छ।
प्रकाशित: ८ श्रावण २०८३ १२:०८ शुक्रबार





