२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्यालेस्टिनी राज्य स्थापनाअघि हतियार नत्याग्ने हमासको अडान

हमासले गाजामा युद्धविरामका लागि भइरहेका वार्ताका क्रममा इजरायलले राखेको एक प्रमुख मागप्रति प्रतिक्रिया दिँदै, सार्वभौम प्यालेस्टिनी राज्य स्थापना नभएसम्म हतियार नत्याग्ने अडान दोहोराएको  छ।

यो भनाइ हमासले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टीभ विटकाफको भनाइप्रति प्रतिक्रिया स्वरूप दिएको हो। विटकाफले हमासले हतियार त्याग्न तयार भएको सङ्केत दिएको दाबी गरेका थिए।

इजरायलका लागि हमासको निःशस्त्रीकरण कुनै पनि सम्झौताका लागि मुख्य सर्तहरूमध्ये एक हो।गत हप्ता इजरायल र हमासबीच बन्धक मुक्तिका साथै युद्धविराम सुनिश्चित गर्न भइरहेका अप्रत्यक्ष वार्ता विफल भएका थिए।

केही दिनयता, विभिन्न अरब मुलुकहरूले पनि हमासलाई हतियार त्याग्न र गाजाको नियन्त्रण छोड्न आग्रह गरेका छन्। यसैबिच फ्रान्स, क्यानडा लगायतका पश्चिमी मुलुकहरूले प्यालेस्टिनी राज्यको मान्यता दिने योजना सार्वजनिक गरेका छन्। बेलायतले पनि इजरायलले निश्चित सर्तहरू पूरा नगरेमा मान्यता दिने बताएको छ।

अमेरिका, बेलायत र युरोपियन युनियनमा आतङ्ककारी समूहको रूपमा सूचीकृत हमासले आफ्नो वक्तव्यमा भनेको छ कि, जबसम्म जेरुसेलम राजधानी भएको पूर्ण स्वतन्त्र प्यालेस्टिनी राज्य स्थापना हुँदैन, तबसम्म प्रतिरोध र हतियार त्याग्न सकिन्न। इजरायली रक्षा बलका प्रमुख लेफ्टिनेन्ट जनरल आयाल जामिरले शुक्रवार चेतावनी दिँदै भनेका थिए कि यदि वार्ताले चाँडै बन्धकहरूलाई मुक्त गराउन सकेन भने गाजामा युद्ध रोकिँदैन।

प्रकाशित: १८ श्रावण २०८२ ०६:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App