मध्य अमेरिकाको सबैभन्दा सक्रिय ज्वालामुखीमध्ये एक फुएगोमा भएको विस्फोटपछि ग्वाटेमालाले उच्च सतर्कता अपनाउँदै जोखिमयुक्त क्षेत्रका सयौँ बासिन्दालाई सुरक्षित स्थानमा सारेको छ।
ज्वालामुखीबाट निस्किएको लावा, पाइरोक्लास्टिक बहाव, ग्यास र खरानीका कारण थप बस्ती खाली गराउने तयारीसमेत भइरहेको अधिकारीहरूले जनाएका छन्।
ग्वाटेमालाको विपद् व्यवस्थापन निकाय कनरडका अनुसार जोखिम क्षेत्रमा रहेका आठ गाउँबाट हालसम्म ६५९ जनालाई उद्धार गरी नजिकैका आश्रयस्थलमा राखिएको छ।
कार्यकारी सचिव क्लाउडिन ओगाल्डेसले अवस्था निरन्तर निगरानीमा रहेको बताउँदै दिनभरि करिब १० समुदायसम्मका बासिन्दालाई सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था आउन सक्ने जानकारी दिए।
कनरडका अनुसार उद्धार गरिएकामध्ये एल पोर्भेनिर र लास लाजितास बस्तीका करिब २५० जना पनि छन्।
ज्वालामुखीबाट निस्किएको खरानी आसपासका सहरसम्म फैलिन सक्ने भएकाले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ।
सोमबार बिहान सुरु भएको विस्फोटका क्रममा ज्वालामुखीको ढलानबाट लावा र अत्यन्त तातो पाइरोक्लास्टिक पदार्थ बगेको तथा माथितर्फ ग्यास र खरानीको बाक्लो मुस्लो उडेको दृश्य सार्वजनिक भएका छन्।
सुरक्षाका दृष्टिले ज्वालामुखी नजिकैबाट जाने प्रमुख राष्ट्रिय राजमार्ग–१४ बन्द गरिएको छ भने शिक्षा मन्त्रालयले आसपासका सहरका विद्यालयमा पठनपाठन स्थगित गरेको जनाएको छ।
फुएगो ज्वालामुखी यसअघि सन् २०१८ मा पनि विनाशकारी रूपमा विस्फोट हुँदा सयौँ मानिसको ज्यान गएको थियो, धेरै गाउँ पूर्ण रूपमा ध्वस्त भएका थिए र करिब १७ लाख मानिस प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित भएका थिए।
गत वर्ष जुन महिनामा भएको अर्को विस्फोटका बेला पनि पूर्वसावधानीस्वरूप स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो। एपी
प्रकाशित: २० श्रावण २०८३ १२:४८ बुधबार





