२३ पुस २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गाजा युद्ध : नेतान्याहुविरुद्ध इजरायलमा उर्लियो हालसम्मकै ठूलो मानवसागर

इजरायलमा गाजा युद्ध र बन्धक रिहाइको मागलाई लिएर आइतबार हालसम्मकै ठूलो प्रदर्शन भएको छ। आयोजकका अनुसार लाखौं मानिसले तेल अवीव र अन्य सहरमा सडक, चोक, सैन्य मुख्यालय र नेताका घरअगाडि अवरोध गरे। प्रहरीले ३८ जनालाई पक्राउ गरेको छ।  

प्रदर्शनकारीले गाजाका कुपोषणग्रस्त बालबालिकाको तस्बिर देखाउँदै युद्धले आम नागरिकलाई पारेको पीडाप्रति आक्रोश व्यक्त गरे। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्ध सुरु भएदेखि ६२ हजारभन्दा धेरै मानिसको मृत्यु भएको छ, जसमध्ये आधा महिला र बालबालिका छन्। हालैको तथ्यांकले २५० भन्दा धेरै मानिस भोकमरी र कुपोषणले मरेको देखाएको छ।  

गाजामा बाँकी ५० बन्धकमध्ये करिब २० जना मात्र जीवित रहेको अनुमान छ। बन्धकका परिवारले सरकार र हमास दुवैलाई दोष दिएका छन्। पूर्व सैनिक र गुप्तचर अधिकारीले युद्ध अन्त्य गर्न सम्झौता आवश्यक रहेको बताएका छन्। तर प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ‘हमासलाई पराजित नगरेसम्म युद्ध रोक्ने आह्वानले बन्धक रिहाइमा ढिलाइ हुन्छ र अर्को आक्रमण सुनिश्चित हुन्छ’ भनेका छन्।  

यसअघि केही बन्धक रिहा गर्ने युद्धविराम सहमति भएको थियो, तर नेतान्याहुको सरकार ढाल्ने धम्की आएको थियो। अर्थमन्त्री बेजलेल स्मोट्रिचले प्रदर्शनलाई ‘हमासको हातमा खेल्ने अभियान’ भनेका छन्।  

इजरायली सेनाले गाजामा सहायता खोज्ने ४० जनालाई मारेको गाजा स्वास्थ्य अधिकारीले बताएका छन्। यी व्यक्ति संयुक्त राष्ट्रसंघको ट्रकको पर्खाइमा थिए। प्रत्यक्षदर्शीले सेनाले भीडतर्फ गोली चलाएको बताए। मध्य गाजाको बुरेज शिविरमा भएको आक्रमणमा थप तीन जना मारिए।  

संयुक्त राष्ट्रसंघले गाजामा भोकमरी उच्च स्तरमा पुगेको चेतावनी दिएको छ। आइतबार मात्र कुपोषणले दुई बालबालिका र पाँच वयस्कको मृत्यु भएको छ। इजरायली सेनाले गाजा सहर र अन्य भीडभाड क्षेत्रमा नयाँ आक्रमणको तयारी गरिरहेको छ। सेनाले १० लाख मानिसलाई दक्षिणतर्फ सार्ने योजना बनाएको छ, तर ‘सुरक्षित क्षेत्र’ भनिएका ठाउँमा पनि बम प्रहार भएको छ। धेरै प्यालेस्टिनीले ‘गाजामा कतै सुरक्षित छैन’ भन्दै आफ्नो स्थान नछोड्ने अडान लिएका छन्।  

यसैबीच, इजरायलले यमनमा इरान समर्थित हुथी विद्रोहीमाथि हवाई आक्रमण गरेको छ। आक्रमणमा सानाको पावर प्लान्ट क्षतिग्रस्त भएको छ। इजरायलले आफ्नो भूमिमा लक्षित क्षेप्यास्त्र र ड्रोन आक्रमणको जवाफमा हमला गरेको बताएको छ। हुथीले बेन गुरियन विमानस्थल लक्षित गरेको दाबी गरेका छन्। एजेन्सी

प्रकाशित: २ भाद्र २०८२ १६:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App