गाजामा युद्ध अन्त्य गर्न सम्झौतालाई अन्तिम रूप दिन इजिप्टले सोमबार शर्म अल-शेखमा अन्तर्राष्ट्रिय शिखर सम्मेलन आयोजना गर्नेछ। सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित २० भन्दा बढी नेता उपस्थित हुनेछन्, इजिप्टका राष्ट्रपतिका प्रवक्ताले विज्ञप्तिमा भनेका छन्।
एक प्यालेस्टिनी अधिकारीले द टाइम्स अफ इजरायललाई प्यालेस्टिनी प्राधिकरणका राष्ट्रपति महमूद अब्बास उपस्थित हुने पुष्टि गरेका छन्। प्रारम्भिक रिपोर्टमा प्यालेस्टिनी प्राधिकरणको प्रतिनिधित्व नहुने भनिएको थियो। तर इजरायलले गाजामा युद्धपछिको प्राधिकरणको भूमिका अस्वीकार गरेको छ।
कायरोले सम्मेलनको उद्देश्य ‘गाजा पट्टीमा युद्ध अन्त्य गर्ने, मध्य पूर्वमा शान्ति र स्थायित्व बढाउने र क्षेत्रीय सुरक्षा र स्थायित्वको नयाँ युगको सुरुवात गर्ने’ बताएको छ।
इजिप्टका अनुसार यो सम्मेलन गाजामा युद्ध अन्त्य गर्न सम्झौता अन्तिम रूप दिन र ट्रम्पको शान्ति योजनाको दोस्रो चरणको समर्थन जुटाउन डिजाइन गरिएको छ। यसमा हमासलाई निशस्त्रीकरण र गाजामा नयाँ शासकीय निकाय सिर्जना गर्ने लक्ष्य छ।
ट्रम्प प्रशासनका एक अधिकारीले यो कार्यक्रमको उद्देश्य ट्रम्पको योजनाका चार ग्यारेन्टरहरू ९अमेरिका, इजिप्ट, कतार र टर्की० लाई २०(बुँदे ढाँचाको ‘व्यापक सिद्धान्तहरूमा सहमत’ गराउनु रहेको बताए।
उनका अनुसार कार्यक्रमको केन्द्रबिन्दु सम्झौताका ग्यारेन्टरहरूबाट समर्थन सुदृढ पार्नु हो। सोहीकारण इजरायल र हमासका प्रतिनिधि उपस्थित हुने छैनन्।
सम्मेलनले युद्ध कसरी अन्त्य हुन्छ भन्ने स्पष्ट छैन। इजरायलले हमासले खतरा नरहेको र गाजाको शासनमा भाग नलिएकोमा सन्तुष्ट नभएसम्म युद्ध अन्त्य नगर्ने बताएको छ। तर युद्धको निरन्तरताको विरोध गर्ने अमेरिका समन्वित राष्ट्रहरूको समूहलाई बलियो बनाउनाले इजरायललाई युद्ध पुन: सुरु गर्न गाह्रो बनाउन सक्छ।
सम्मेलनले इजरायलसँग क्षेत्रमा ‘सामान्यीकरणतर्फ व्यापक आन्दोलन’ अगाडि बढाउन सक्छ, जुन इजरायल र ट्रम्प प्रशासनको साझा लक्ष्य हो, अमेरिकी अधिकारीले थपे।
शुक्रबार एक्सियोसले पहिलो पटक सम्मेलनको समाचार रिपोर्ट गरेको थियो। ट्रम्पले जर्मनी, फ्रान्स, बेलायत, इटाली, कतार, युएई, जोर्डन, टर्की, साउदी अरेबिया, पाकिस्तान र इन्डोनेसियाका नेताहरू वा विदेश मन्त्रीहरूलाई निमन्त्रणा पठाएका छन्।
अमेरिकी विदेश विभागले स्पेन, जापान, अजरबैजान, आर्मेनिया, हंगेरी, भारत, एल साल्भाडोर, साइप्रस, ग्रीस, बहराइन, कुवेत र क्यानडालाई समावेश गरी निमन्त्रितहरूको सूची विस्तार गरेको छ।
एक स्रोतका अनुसार इरानलाई पनि आमन्त्रित गरिएको छ। तर इरानी मिडियाले तेहरान सहभागी नहुने बताएका छन्।
बेलायती प्रधानमन्त्री केयर स्टारमर, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी, स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेज, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र जोर्डनका राजा अब्दुल्लाह द्वितीयले उपस्थिति पुष्टि गरेका छन्।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टा पनि उपस्थित हुनेछन्।
अघिल्लो वार्तामा हमासले मुख्यतया कतारी र इजिप्टियन मध्यस्थकर्ताहरू मार्फत काम गरेको थियो।
ट्रम्पले इजरायल भ्रमण र हमासले बन्धक रिहा गरेपछि सम्मेलन हुनेछ।
सिनाई रिसोर्ट सहर गत हप्ता इजरायल र हमासबिचको अप्रत्यक्ष वार्ताको स्थान थियो। मध्यस्थकर्ताहरूले बन्धक रिहाइ सम्झौता र युद्धविरामको पहिलो चरण सुरक्षित गरे, जुन ७ अक्टोबर २०२३ बाट सुरु भएको दुई वर्षे युद्ध अन्त्य गर्ने दिशामा कदम हो।
हमासले अचानक आक्रमण गर्दा १२ सय जनाको ज्यान गएको थियो भने २५१ जना बन्धक बनाइएका थिए। जवाफमा इजरायलले गरेको कारबाहीमा गाजामा ६८ हजारभन्दा धेरैको ज्यान गएको हमासले जानकारी दिएको छ। दुई वर्षे युद्धमा गाजामा ज्यान गुमाउनेमा महिला र बालबालिका पनि धेरै रहेका छन्।
शुक्रबारबाट युद्धविराम सुरु भएसँगै गाजामा हमास समूहले नियन्त्रणमा लिएका ४८ बन्धक, जसमध्ये २० जीवित रहेको विश्वास छ। हमासले उनीहरूलाई नेपाली समय अनुसार सोमबार दिउँसो पौने चारसम्म रिहा गरिसक्नुपर्ने छ। इजरायलले आजीवन कारावास भोगिरहेका २५० हमास कैदीसहित करिब दुई हजार प्यालेस्टिनी बन्दी रिहा गर्ने तयारी गरेको छ।
युद्ध समाप्त भएर एक अर्काका बन्धक रिहा हुने भएसँगै दुवैतिर खुसीको लहर छ। अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएर उत्सव मनाउन सडकमा निस्कने धेरै छन्।
स्पष्ट सफलताको बावजुद मध्यस्थकर्ताहरूले दीर्घकालीन राजनीतिक समाधान सुरक्षित गर्न कठिन काम गर्नुपर्नेछ। यसमा हमासले हतियार बुझाउने र गाजाको शासनबाट अलग हुने प्रावधान छ, जुन गत हप्ता सिद्धान्तत: सहमत युद्धविराम सम्झौताको थप चरणहरूमा समावेश छ।
एक हमास अधिकारीले एएफपीलाई ट्रम्पको योजनाको दोस्रो चरणमा धेरै जटिलता र कठिनाइहरू रहेको भनेका थिए। दोस्रो चरणमा हमासको निशस्त्रीकरण, गाजामा बहुराष्ट्रिय शक्ति र प्राविधिक सरकार स्थापना र थप इजरायली फिर्ता समावेश छ।
इजिप्टमा हुने सम्मेलनअघि ट्रम्पले सोमबार बिहान इजरायल पुग्नेछन्। उनले शर्म अल-शेख प्रस्थान गर्नुअघि इजरायली संसद नेसेटलाई सम्बोधन गर्ने कार्यक्रम तय छन्। एजेन्सी
प्रकाशित: २७ आश्विन २०८२ ०८:१० सोमबार





