१३ श्रावण २०८३ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

स्पेनमा डढेलो नियन्त्रण, विस्थापितलाई घर फर्काउने तयारी

स्पेनको राजधानी म्याड्रिडको पश्चिमी क्षेत्रमा फैलिएको डढेलो नियन्त्रणका लागि रातभर गरिएको प्रयासपछि अग्नि नियन्त्रकले प्रगति गरेको गृहमन्त्री फर्नान्डो ग्रान्डे–मार्लास्काले मंगलबार बताएका छन्। डढेलोका कारण हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

स्पेन सरकारले गत साता देशको इतिहासमै सबैभन्दा भीषणमध्येका डढेलो नियन्त्रणका लागि राष्ट्रिय आपतकाल घोषणा गरेको थियो।

डढेलो म्याड्रिड क्षेत्र, अभिला प्रान्त, टोलेडो तथा पूर्वी भ्यालेन्सियाका विभिन्न क्षेत्रमा फैलिएको छ। ‘सबै सार्वजनिक आपतकालीन सेवाको अथक प्रयासका कारण रात निकै सकारात्मक रह्यो,’ मार्लास्काले स्पेनको सार्वजनिक टेलिभिजनसँगको अन्तर्वार्तामा भने, ‘यद्यपि, हामी अहिले पनि अत्यन्त संवेदनशील अवस्थामा छौँ।’

मौसमविद्ले बुधबारदेखि उच्च तापक्रम, न्यून आद्र्रता र तीव्र हावाको पूर्वानुमान गरेकाले अग्नि नियन्त्रक उच्च सतर्कतामा छन्। प्रतिकूल मौसमले डढेलो नियन्त्रणको प्रयासलाई थप चुनौतीपूर्ण बनाउन सक्ने बताइएको छ।

सोमबार म्याड्रिडबाट करिब ७० किलोमिटर पश्चिममा रहेको सान जुआन जलाशयको उत्तरी क्षेत्रमा फैलिएको डढेलोको अवस्था निकै गम्भीर रहेको अधिकारीले बताएका थिए। तर, त्यहाँ रातभर गरिएको नियन्त्रण प्रयासको नतिजा अत्यन्त सकारात्मक रहेको मार्लास्काले बताए।

‘आगामी केही घण्टामा सामना गर्नुपर्ने मौसमलाई ध्यानमा राख्दै अहिले केही ढुक्क हुन सकिन्छ,’ उनले भने।

म्याड्रिड क्षेत्रीय सरकारकी प्रमुख इसाबेल डियाज आयुसोले पनि डढेलोको अवस्था क्रमशः सुधार हुँदै गएको बताए।

उनले विभिन्न नगरपालिकाबाट विस्थापित बासिन्दालाई सुरक्षित रूपमा घर फर्काउने योजना बनाउन सकिने अवस्था देखिएको बताए।

स्पेनको गृह मन्त्रालयका अनुसार हालसम्म करिब ६३ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। तीमध्ये झन्डै आधा म्याड्रिड क्षेत्रका छन्।

सोमबार भने टोलेडो क्षेत्रका चार हजारभन्दा बढी बासिन्दालाई घर फर्कन अनुमति दिइएको थियो।

मार्लास्काका अनुसार पछिल्ला डढेलोले करिब ७७ हजार हेक्टर जमिन प्रभावित भएको छ। यससँगै यस वर्ष स्पेनमा डढेलोबाट प्रभावित कुल क्षेत्रफल करिब एक लाख ७५ हजार हेक्टर पुगेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा करिब छ गुणा बढी हो।

प्रकाशित: १२ श्रावण २०८३ १८:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App