लोकतान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो)मा इबोला भाइरसको संक्रमण निरन्तर फैलिँदै गएको छ। नयाँ–नयाँ क्षेत्रमा संक्रमण पुष्टि भइरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले प्रकोप अझै नियन्त्रणमा आउन नसकेको जनाएको छ।
डब्ल्यूएचओका इटुरी प्रान्तका घटना व्यवस्थापक थियर्नो बाल्डेले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा दीर्घकालीन अस्थिरता, द्वन्द्वको जोखिम, ठूलो संख्यामा हुने जनसङ्ख्याको आवतजावत तथा विस्थापनले संक्रमण नियन्त्रणलाई जटिल बनाएको बताए।
उनका अनुसार स्वास्थ्यकर्मीहरूले समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्दै उपचार र निगरानी कार्यक्रमलाई प्रभावकारी बनाउन प्रयास गरिरहेका छन्। हालको मुख्य लक्ष्य संक्रमण प्रभावित क्षेत्रलाई सीमित राख्दै थप फैलिन नदिनु रहेको उनले स्पष्ट पारे।
डीआर कंगो सरकारका अनुसार आइतबारसम्म २ हजार ४२३ जनामा इबोला संक्रमण पुष्टि भएको छ। तीमध्ये ९६७ जनाको मृत्यु भइसकेको छ भने ४६९ जना उपचारपछि निको भएका छन्। अहिले ७३४ जना संक्रमित उपचार वा निगरानीमा रहेका छन्।
संक्रमणबाट अग्रपंक्तिमा खटिएका १२१ जना स्वास्थ्यकर्मी पनि प्रभावित भएका छन्। उनीहरूमध्ये ३६ जनाले ज्यान गुमाएका छन्। पछिल्लो समय इटुरी प्रान्तको अड्जा स्वास्थ्य क्षेत्रमा पनि संक्रमण पुष्टि भएसँगै इबोला पाँच प्रान्तका ४७ स्वास्थ्य क्षेत्रमा फैलिएको छ। तीमध्ये ४६ क्षेत्रमा संक्रमण अझै सक्रिय रहेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।
गत मे १५ मा घोषणा गरिएको यस प्रकोपको मुख्य केन्द्र इटुरी प्रान्त नै रहेको छ। कुल संक्रमितमध्ये ९० प्रतिशतभन्दा बढी तथा मृत्युका करिब ८० प्रतिशत घटना यही प्रान्तमा दर्ज भएका छन्।
डब्ल्यूएचओका अनुसार सीमावर्ती क्षेत्रमा हुने जनसङ्ख्याको निरन्तर आवतजावत, सुरक्षा चुनौती, अनौपचारिक खानी गतिविधि तथा युगान्डा र दक्षिण सुडानसँगको सीमापार आवागमनले संक्रमण नियन्त्रण अभियानलाई थप कठिन बनाएको छ।
संक्रमण अन्तरदेशीय रूपमा फैलिन नदिन डीआर कंगो र युगान्डाले कासेनी सीमा क्षेत्रमा सञ्चालन गरिएको मोबाइल प्रयोगशालाको संयुक्त प्राविधिक मूल्यांकनसमेत सम्पन्न गरेका छन्।
प्रकाशित: ६ श्रावण २०८३ १७:२५ बुधबार


-600x400.jpg)


