अस्ट्रेलियाको उत्तरी क्षेत्रमा तेस्रो श्रेणीको उष्णकटिबन्धीय आँधी फिना आएपछि करिब १९ हजार मानिस बिजुलीविहीन भएका छन्। आँधीले शनिबार राति डार्विन सहरलाई पार गर्दा २०५ किलोमिटर प्रतिघण्टाको विनाशकारी हावा चलेको थियो।
मौसम विभागका अनुसार आइतबार बिहान यो आँधी ‘गम्भीर उष्णकटिबन्धीय आँधी’ को रूपमा टाढा सरेको छ।
लगभग एक लाख ४० हजार जनसंख्या भएको डार्विनका बासिन्दालाई यो आँधीले सन् १९७४ को क्रिसमसमा आएको चक्रवात ट्रेसीको पीडादायी सम्झना ताजा गराएको छ। ट्रेसीले सहरको धेरै भाग ध्वस्त पार्नुका साथै ६६ जनाको ज्यान लिएको थियो। त्यसलाई अस्ट्रेलियाकै सबैभन्दा ठुलो प्राकृतिक विपद् मानिन्छ।
उत्तरी क्षेत्रकी मुख्यमन्त्री लिया फिनोचियारोले सम्पत्तिको क्षति भएको र सडकहरू डुबानमा परेको बताइन्। उनले भनिन्, ‘यस चक्रवातले एउटा यस्तो क्षेत्र देख्यो जुन एकताबद्ध थियो र आउने कुराहरूको लागि तयार थियो।’ उनले कुनै मानवीय क्षति नभएको पनि स्पष्ट पारिन्।
ढलेका बिजुलीका लाइन र डुबानका कारण डार्विन अन्तर्राष्ट्रिय विमानस्थल आइतबार बन्द छ। अधिकारीहरूले बासिन्दालाई ढलेका लाइनबाट टाढा रहन आग्रह गरेका छन्। क्षति मूल्याङ्कनका टोलीहरू परिचालित भएका छन्।
मौसम विभागका अनुसार तेस्रो श्रेणीको आँधीले संरचना, बालीनाली र रूखहरूलाई क्षति पुर्याउनुका साथै लामो समयसम्म बिजुली आपूर्ति बन्द गर्न सक्छ। यो वर्ष मार्चमा पूर्व–उष्णकटिबन्धीय चक्रवात अल्फ्रेडले छिमेकी क्वीन्सल्याण्डमा पनि लाखौँ मानिसलाई बिजुलीविहीन बनाएको थियो। एजेन्सी
प्रकाशित: ७ मंसिर २०८२ ११:२२ आइतबार





