प्रहरीको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएपछि इन्डोनेसियाका धेरै सहरमा विरोध प्रदर्शन चर्किएको छ।
शुक्रबार राजधानी जकार्तास्थित प्रहरी मोबाइल ब्रिगेडको मुख्यालयतिर प्रदर्शनकारीले मार्च गरे र केहीले परिसरमा आक्रमण गर्ने प्रयास गरे। प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले पानीको फोहोरा र अश्रुग्याँस प्रहार गर्यो, जसको जवाफमा उनीहरूले बोतल र ढुंगा प्रहार गरे।
मध्य जकार्ताको क्विताङ छिमेकमा रहेको प्रहरी परिसर नजिकैको पाँचतले भवनमा प्रदर्शनकारीको समूहले आगजनी गरेपछि धेरै जना भित्र फसे। केही विद्यार्थीले फसेकालाई उद्धार गर्न सैनिक र बासिन्दालाई मद्दत गर्न आफ्नो प्रदर्शन रोके। अन्य प्रदर्शनकारीले यातायात संकेत र अन्य पूर्वाधार नष्ट गरे, जसले क्षेत्रमा यातायात ठप्प भयो।
ढुंगा प्रहार गर्ने प्रदर्शनकारी र दंगा प्रहरीबिचको झडप सुराबाया, सोलो, योग्याकार्ता, मेदान, मकासर, मनाडो, बान्डुंग र मनोकवारीलगायत देशका अन्य सहरमा पनि देखियो। बिहीबार इन्डोनेसियाको संसदबाहिर अफान कुर्नियावानको मृत्यु भएपछि तनाव सुरु भएको थियो। दंगा प्रहरीले बढी ज्याला, कर घटाउने र राजनीतिज्ञको भत्ता हटाउने माग गर्दै भेला भएको भीडलाई तितरबितर गर्यो। २१ वर्षीय कुर्नियावानले खाना वितरण सेवाको अर्डर पूरा गरिरहँदा झडपमा परेर ज्यान गुमाए।
प्रत्यक्षदर्शीले स्थानीय टेलिभिजनलाई भने, ‘राष्ट्रिय प्रहरीको मोबाइल ब्रिगेड युनिटको बख्तरबन्द कार अचानक प्रदर्शनकारीको भीडबाट गुज्रियो र कुर्नियावानलाई ठक्कर दियो, जसकारण उनी लडे। रोकिनुको सट्टा, कारले उनलाई किच्यो।’ जकार्ताका प्रहरी प्रमुख एसेप एडी सुहेरीले गोजेक र ग्राबमा काम गर्ने कुर्नियावानलाई सशस्त्र प्रहरी गाडीले ठक्कर दिएको पुष्टि गरे। राष्ट्रपति प्रबोवो र प्रहरी प्रमुखले मृतक चालकको परिवारसँग माफी मागे।
कुर्नियावानको अन्त्येष्टिमा अधिकारकर्मी, राजनीतिज्ञ र सवारले श्रद्धाञ्जली अर्पण गर्दा जकार्ताको प्रमुख यातायात घेरा भरियो। राष्ट्रपति प्रबोवो सुबियान्तोले प्रदर्शनकारीलाई शान्त रहन आह्वान गरे। कुर्नियावानको मृत्युप्रति समवेदना व्यक्त गर्दै उनले घटनाको गहन अनुसन्धान गर्न आदेश दिए। उनले पूर्ण र पारदर्शी अनुसन्धानको आदेश दिएको बताउँदै संलग्न अधिकारीलाई जवाफदेही बनाउने बताए।
सोमबार ५८० सांसदले मासिक ५ करोड इन्डोनेसियाली रुपियाँ आवास भत्ता पाएको रिपोर्ट सार्वजनिक भएपछि राष्ट्रव्यापी प्रदर्शन सुरु भयो। यो भत्ता जकार्ताको न्यूनतम ज्यालाको १० गुणा हो। आलोचकले यो भत्ता अत्यधिक र असंवेदनशील भएको तर्क गरे। किनभने धेरैजसो मानिस बढ्दो जीवनयापन लागत, कर र बेरोजगारीसँग जुधिरहेका छन्।
राष्ट्रपति सुबियान्तोले जनतालाई सरकारमाथि विश्वास राख्न आग्रह गरे। उनले भने, ‘मेरो सरकारले जनताको कल्याणका लागि आवश्यक हरेक कदम चाल्नेछ। जनताको गुनासो सुनिनेछ।’ अक्टोबरमा राष्ट्रपति पदको एक वर्ष पूरा हुँदैछ। ह्वाट इज अपकी सह-संस्थापक अबिगेल लिमुराले भनिन्, ‘विरोध प्रदर्शनहरू देशभरि महिनौंदेखि आर्थिक र राजनीतिक निराशाको परिणति हो।’ ‘हामी बिग्रँदै गएको अर्थतन्त्र, ध्वस्त हुँदै गएको रोजगार बजारमा छौं, जहाँ हजारौंलाई जागिरबाट निकालिएको छ। दयाको सट्टा, यी मानिसलाई निरन्तर उदासीनता र कहिलेकाहीं अपमानजनक प्रतिक्रिया दिइन्छ,’ उनले भनिन्।
जकार्ताबाट रिपोर्ट गर्दै अल जजीराकी स्यारिना हसिबुआनले भनिन्, ‘मानिसलाई लाग्छ कि सरकारले उनीहरूको अवस्थाको बारेमा सुन्न चाहँदैन।’ एम्नेस्टी इन्टरनेशनल इन्डोनेसियाका कार्यकारी निर्देशक उस्मान हमिदले भने, ‘ट्याक्सी चालकको घटना प्रहरीले अत्यधिक बल प्रयोग गरेको धेरै घटनामध्ये एक हो। पश्चिम पपुवासहित इन्डोनेसियाभरि धेरै घटना छन्,’ उनले भने। उनले बन्दुकको प्रयोग, मनमानी गिरफ्तारी, थुना, यातना र गैरन्यायिक हत्याका विश्वसनीय रिपोर्ट निरन्तर प्राप्त भएको जानकारी दिए। अल जजीराबाट
प्रकाशित: १३ भाद्र २०८२ २१:५१ शुक्रबार





