भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पछिल्लो पटक चीन र जापानको भ्रमणमा जाँदा विदेश मन्त्री एस जयशंकर साथमा देखिएनन्। यसअघिका प्रायः मोदीका विदेश भ्रमणमा जयशंकर सँगै देखिन्थे। तर, यस पटक जापान र चीन भ्रमणमा मोदीसँग उनी नदेखिएपछि अहिले भारतमा त्यसबारे व्यापक चर्चा परिचर्चा भइरहेको छ।
ब्युरोक्रेट र कूटनीतिक पृष्ठभूमिका जयशंकर सन् २०१९मा भारतीय विदेश मन्त्री नियुक्त हुँदा धेरैको अनुमान मोदीको विदेश नीति अब जयशंकरबाटै निर्देशित हुन्छ भन्ने अपेक्षा थियो। सोही अपेक्षाअनुरूप पछिल्ला सात वर्षदेखि भारतको विदेश नीतिमा जयशंकर नै अगाडि देखिए पनि। जसले भारतको ‘मोदी ब्रान्ड’लाई विश्वभर फैलाउने जिम्मा सम्हाले।
तीनै जयशंकर अमेरिकाको ५० प्रतिशत ट्यारिफ भोगेपछिको मोदीको चीन र जापान भ्रमणमा नदेखिँदा भारतमा भइरहेको चर्चालाई मलजल दिइरहेको छ। उसो त जयशंकर जापान र चीनस्थित भारतीय राजदूतावासमा बसिसकेका पूर्व भारतीय कूटनीतिक अधिकारी पनि हुन्। उनी सन् १९९६ मा जापानको उपराजदूत थिए भने सन् २००९ देखि २०१३ सम्म चीनमा भारतीय राजदूत भएर बसेका थिए। त्यसपछि केही समय नेपालको राजदूत पनि भएर बसे।
यसैले चीन र जापान बसिसकेका र त्यहाँको विषय बुझेका विदेश मन्त्री जयशंकर चीनमा चलिरहेको साँघाई सहयोग संगठन(एससिओ)को सम्मेलनमा किन गएनन्? भनेर सामाजिक सञ्जालभरि प्रश्न ओइरिरहेका छन्।

उसो त मोदी जापान र चीन भ्रमणमा निस्किँदा जयशंकर बिरामी भएको भनिएको छ। तर, त्यसलाई सबै भारतीयले पत्याइरहेका छैनन्। यद्यपि त्यसबारे भारतीय विदेश मन्त्रालयले हालसम्म कुनै पनि जानकारी सार्वजनिक गरेको छैन।
बरु मोदी जापान र चीन भ्रमणमा रहेकै बेला जयशंकरले विभिन्न मानिससँग भेटघाट गरेका र फिनल्यान्डकी परराष्ट्र मन्त्रीसँग भेटवार्ता गरेको तस्बिरहरू सार्वजनिक भइरहेका थिए।
‘जयशंकर नीति’मा चीनको प्रश्न
जयशंकरको विदेश नीति र भूमिकामाथि स्वयं चीनको सत्तानिकट सञ्चारमाध्यम ग्लोबल टाइम्सले नै प्रश्न उठाइरहेको थियो। यसै महिला (१८ अगस्ट)मा चिनियाँ विदेश मन्त्री वाङ यी नयाँ दिल्ली भ्रमणमा आएको बला जयशंकरले–‘भारत केवल बहुपक्षीय विश्वको पक्षमा छैन, बहुपक्षीय एसियाको पक्षमा पनि छ।’ भनेर भनेका थिए। त्यसको अर्थ–‘भारत विश्वमा कुनै एक देशको दबदबा हुन नहुने मात्रै नभएर एसियामा पनि कुनै एक देशको दबदबा चाहन्न’ भन्ने हो। त्यो कुरा सिधै चीनलक्षित थियो। एसियामा चीनको एकछत्र वर्चस्व भारतले नचाहने कुरा उनले भनेका थिए।
गत वर्ष एक सार्वजनिक बहुपक्षीय कार्यक्रममा जयशंकरले ‘चीन एक समस्या हो’ भनेर टिप्पणी गरेका थिए। ‘हामी विश्वमा एक्लो देश होइनौँ, जो चीनबारे बहस गरिरहेका छौँ,’ जयशंकरले भनेका थिए,‘तपाईँ युरोप जानुहोस् र सोध्नुहोस्–त्यहाँ आर्थिक र राष्ट्रिय सुरक्षासँग सम्बन्धित ठुला बहसहरूमा के मुद्दा छ? मुद्दा चीन नै हो। अमेरिका हेर्नुहोस्, त्यहाँ पनि चीन बहसको केन्द्रमा छ। सत्य के हो भने भारतका लागि चीन समस्या हो र यो विश्वका सामान्य समस्याभन्दा माथि छ।’
जयशंकरले यसरी बोलेपछि चिनियाँ कम्युनिस्ट पार्टीको मुख पत्र ग्लोबल टाइम्सले ‘इन्डिया डिप्लोमेसी ह्याज अ एस जयशंकर प्रब्लम’ शीर्षकमा लेख नै प्रकाशित गरेको थियो। जसमा ‘चीन र भारतबिच सम्बन्ध सुधार हुँदा जयशंकर भयभीत हुने’ पनि लेखेको थियो। ग्लोबल टाइम्सले जयशंकरलाई अमेरिका नजिक हुने खालको भारतीय विदेश नीतिमा काम गरेको आरोप लगाएको थियो।ग्लोबल टाइम्सको सामग्रीले जयशंकरप्रति चीनको असहजतालाई चित्रित गरेको छ।
भारतीयको टिप्पणी के छ?
अमेरिकाले भारतमाथि महँगो ट्यारिफ लगाएपछि चीनजस्तै भारतमा पनि धेरैले अहिले जयशंकरले डो¥याउन खोजेको विदेश नीतिमै प्रश्न गरेका छन्।
बिबिसी हिन्दीले दिल्लीस्थित एक विश्वविद्यालयका विदेश मामिलाका एक प्राध्यापकसँगको कुरालाई महत्वका साथ छापेको छ। तर, ती प्राध्यापकको नाम भने गोप्य राखेको छ।
‘जयशंकर चीन नजानुको कारण उनले भारतको विदेश नीतिलाई पूरै अमेरिकामुखी बनाइदिएको मुख्य हो। तर त्यसका बाबजुद पनि ट्रम्पले भारतलाई झट्का दिए,’ ती प्राध्यापकले भनेका छन्, ‘यो त्यस्तै हो, जस्तो सबै अण्डा एउटै टोकरीमा राखिएको होस्। टोकरी खस्दा सबै अण्डा फुटे।’ उनले जयशंकरको विदेश नीतिमा असंलग्नता त्यागेको पनि आरोप लगाएका छन्। ‘अहिले भारतले विदेश नीतिलाई फेरि सन्तुलनमा ल्याउन प्रयास गरिरहेको छ। त्यही कारण जयशंकरलाई यस प्रक्रियाबाट अलग राखिएको हो,’ ती प्राध्यापकले भनेका छन्।

भारतका पूर्व विदेश मन्त्री सलमान खुर्सिद पनि मोदी सरकारले पछिल्लो समय असंलग्न विदेश नीतिलाई उपेक्षा गरेको टिप्पणी गरेका छन्। ‘भारतको विदेश नीतिको आधारशिला नै असंलग्नता हो। तर हामी पूरै अमेरिकाको भित्तामा पुगेका थियौँ,’ उनले भनेका छन्, ‘तर ट्रम्पले ५० प्रतिशत ट्यारिफ लगाइदिए। अहिले भारतको विदेश नीति पूरै लेनदेनमा सीमित भएको छ।’
अहिले चीन र जापान भ्रमणमा मोदीसँग जयशंकर नगएको देख्दा आफूलाई आश्चर्य लागेको पनि पूर्व विदेश मन्त्री खुर्सिदले बताएका छन्। ‘मलाई यो कुरा अलि आश्चर्यजनक लागिरहेको छ। ग्लोबल टाइम्सको लेखबाट केही संकेत त मिलेको थियो’, उनले भनेका छन्। मोदीसँग भ्रमणमा किन जयशंकर गएका थिएनन्? त्यो भने लोकतान्त्रिक मुलुकको विदेश मन्त्रालयले जनतालाई भन्नुपर्ने उनको तर्क छ।
अमेरिकासँग नजिक हुन खोज्दाखोज्दै परिस्थिति सम्हाल्न नसकेकामा प्राध्यापक हर्ष पन्त पनि जयशंकरको आलोचना गर्छन्। ‘यस्तो अवस्थामा संसारका सबै विदेश मन्त्रीलाई नकारा भन्नुपर्छ,’ उनी भन्छन्। तर भारत ट्रम्पका अगाडि घुँडा नटेकेको उनको दाबी छ। ‘घुँडा टेकेको भए ५० प्रतिशत शुल्क लगाइँदैनथ्यो। भारतले रोज्यो कि ऊ अमेरिकासामु झुक्दैन। भारतले रोज्यो कि ऊ अरूको आदेशमा रुससँगको व्यापार बन्द गर्दैन,’ प्राध्यापक पन्तको कथन छ।
तर, जयशंकरले अगाडि बढाएको विदेश नीति अमेरिकामुखी रहेको भन्ने आरोपको खण्डन पनि भइरहेको छ। पूर्व विदेश सचिव तथा रुसमै भारतका राजदूत रहिसकेका कम्बल सिब्बलले त्यो आरोप ठाडै अस्वीकार गरे ।
‘जयशंकरले भारतको विदेश नीति अमेरिकामुखी बनाइदिएका कारण उनी प्रधानमन्त्री मोदीसँग चीन गएनन् भन्ने आरोप पूर्ण रूपमा गलत छ,’ उनले भनेका छन्, ‘मेरो बुझाइमा जयशंकर निजी कारणले चीन र जापान भ्रमणमा गएका थिएनन्। मलाई लाग्दैन यसमा कुनै ठुलो अर्थ छ।’ जयशंकरले प्रधानमन्त्री मोदीकै अनुसार विदेश नीति अगाडि बढाइरहेको पनि उनले दाबी गरे।
थिंक ट्यांक इन्द्राणी बागची पनि जयशंकर चीन र जापान भ्रमणमा नजानुमा धेरै ठुलो अर्थ नभएको दाबी गर्छिन्। ‘चीनलाई लिएर जयशंकरको दृष्टिकोण भारतको आधिकारिक नीतिभन्दा बाहिर छ भन्ने मलाई लाग्दैन,’ उनले भनेकी छन्, ‘तर उनी किन गएनन् भन्ने कुरा लोकतन्त्रमा सबैले थाहा पाउने अधिकार छ। विदेश मन्त्रालयले जानकारी दिनुपर्छ।’
–बिबिसी हिन्दीको सहयोगमा
प्रकाशित: १७ भाद्र २०८२ २१:२६ मंगलबार





