भारतको मेघालयमा अवैध कोइला खानीमा बिहिबार भएको डाइनामाइट विस्फोटमा ज्यान गुमाउनेको संख्या २५ पुगेको छ।
शनिबार थप शव फेला परेपछि र एक घाइतेको अस्पतालमा मृत्यु भएपछि यो संख्या बढेको हो। पीडितहरूमा असमका मजदुरहरू बढी छन्।
प्रहरी उपरीक्षक विकास कुमारले भने, ‘उद्धार टोलीले अपरेशनको क्रममा खानीबाट थप चार शव निकालेको छ। थाङ्स्को क्षेत्रको मिन्सिङगाटमा भएको खानी घटनाको सम्बन्धमा आज पनि खोजी र उद्धार कार्य जारी छ।’
उनले थपे, ‘यस घटनामा मारिनेको कुल संख्या २५ पुगेको छ। अहिलेसम्म बरामद गरिएका शवहरूमध्ये १७ वटा शवको पहिचान भइसकेको छ र सबै आवश्यक कानुनी औपचारिकता पूरा गरेपछि शवहरू आफन्तहरूलाई हस्तान्तरण गरिएको छ।’
खोजी अभियान अझै जारी छ। राष्ट्रिय विपद् प्रतिक्रिया बल, राज्य विपद् प्रतिक्रिया बल र विशेष उद्धार इकाईका टोलीहरू घटनास्थलमा खटिएका छन्।
दुई खानी मालिक फोर्मे चिरमाङ र शमेही वारलाई पक्राउ गरी तीन दिनको प्रहरी हिरासतमा राखिएको छ।
घटनामा एफआईआर दर्ता गरी विभिन्न कसुरमा अनुसन्धान थालिएको छ। बीबीसी
प्रकाशित: २४ माघ २०८२ १४:०२ शनिबार





