२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

रास्वपा कास्कीका उपसभापति राजु राईले छोडे पार्टी

टिकट विवादपछि कार्यकर्तामा छैन उत्साह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीका उपसभापति राजु राईले पार्टी परित्याग गरेका छन्। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा कास्की–१ बाट उम्मेदवार बनेका राईले बिहीबार सामाजिक सञ्जालमार्फत असन्तुष्टि सार्वजनिक गर्दै पार्टी छाडेको घोषणा गरेका हुन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘आजदेखि राजनीति र पार्टीका लागि एक कौडी पैसा र एक सेकेन्ड समय पनि खेर फाल्ने छैन। अब स्वतन्त्र नागरिकका रूपमा समाजसेवामा लाग्नेछु।’

आगामी प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि पार्टीले गरेको उम्मेदवार चयनप्रति असन्तुष्ट बनेपछि उनले यस्तो निर्णय लिएका हुन्। अघिल्लो निर्वाचनमा उल्लेख्य मत प्राप्त गरेका राई यसपटक पनि उम्मेदवारको आकांक्षी थिए। तर पार्टीले उनको सट्टा गणेश पौडेललाई टिकट दिएको थियो।

पार्टी संस्थापक सदस्यसमेत रहेका राई २०७९ को निर्वाचनमा १० हजार ९ सय ४१ मत ल्याएका थिए। त्यही क्षेत्रमा समानुपातिकतर्फ रास्वपाले १५ हजार ८ सय ६४ मत प्राप्त गरेको थियो। आफूले राम्रो मत ल्याए पनि टिकट नदिइएको र निर्णय प्रक्रियामा पारदर्शिता नभएको उनको संकेत छ।

राईले टिकट वितरण प्रक्रियामा आर्थिक चलखेल भएको आशय व्यक्त गर्दै लेखेका छन्, ‘नेता चिन्नुपर्ने र टिकट किन्नुपर्ने पार्टीलाई भोट दिनु भनेको आफ्नै टाउकोमा ऋण बोक्नु हो।’

उनले पार्टी ‘हाइज्याक’ भएको आरोपसमेत लगाएका छन्। टिकट किनबेच हुने अवस्था सिर्जना भएको र नेताको वरिपरि घुमेर टिकट पाइने संस्कृति बसालिए नयाँ पार्टीको औचित्य समाप्त हुने उनको तर्क छ। योगदान र कार्यसम्पादनको मूल्यांकन हुने अपेक्षासहित पार्टीमा लागेको भए पनि व्यवहारमा त्यस्तो नभएपछि पार्टी छाड्ने निष्कर्षमा पुगेको उनले स्पष्ट पारेका छन्।

कास्की–१ मात्र होइन, कास्की–२ र ३ मा पनि रास्वपाका नेता–कार्यकर्तामा असन्तुष्टि देखिएको छ, तर सार्वजनिक रुपमा बोलेका छैनन् । अघिल्लो निर्वाचनका उम्मेदवारलाई दोहोर्‍याइँदा मूल्यांकन नभएको र सक्रिय कार्यकर्ताको योगदान उपेक्षित भएको गुनासो उनीहरूमा छ। यद्यपि अधिकांश नेता–कार्यकर्ता भने पार्टी छाड्ने तहमा नपुगेको एक स्थानीय नेताले बताए।

उनका अनुसार कास्की–३ मा समेत टिकट खरिदसम्बन्धी हल्ला चलेको छ भने कास्की–२ मा १० जना वडाध्यक्षले उम्मेदवारको योग्यता नपुगेको भन्दै सभापतिलाई पत्र लेखेका थिए। ‘तर चुनाव नजिकिँदै गर्दा यो विषयलाई कसैले खुला रूपमा उछाल्ने सम्भावना कम छ,’ उनले भने।

प्रकाशित: १४ फाल्गुन २०८२ १६:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App