२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

मोरङका तीन क्षेत्रमा एमाले उम्मेदवारको जमानत जफत

प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत मोरङका तीन निर्वाचन क्षेत्रमा नेकपा (एमाले)का उम्मेदवारको जमानत जफत भएको छ।

मोरङका ६ क्षेत्रमध्ये हालसम्म परिणाम घोषणा भएका तीनवटै क्षेत्र—मोरङ–४, ५ र ६—मा एमालेका उम्मेदवारले न्यून मत प्राप्त गरेपछि जमानत गुमाएका हुन्।

मोरङ–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सन्तोष राजवंशी ४० हजार ८३३ मतसहित विजयी भए। मोरङ–६ मा रुबिना आचार्य ५५ हजार ५१३ मतसहित निर्वाचित भइन् भने मोरङ–५ मा आशा झा ३० हजार ४३४ मतसहित विजयी भइन्। तीनवटै क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार प्रमुख प्रतिस्पर्धी रहेका थिए।

मोरङ–४ मा एमालेका जीवन घिमिरे, मोरङ–५ मा मनोज अग्रवाल र मोरङ–६ मा विनोद ढकालको जमानत जफत भएको छ।

निर्वाचन नियमअनुसार जमानत जोगाउन कुल सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्नुपर्ने हुन्छ। मोरङ–४ मा कांग्रेसका महामन्त्री गुरुराज घिमिरे १२ हजार ८१८ मतसहित तेस्रो स्थानमा रहेर जमानत जोगाउन सफल भए भने अमनलाल मोदीले १० हजार ७६२ मत प्राप्त गर्दै जमानत सुरक्षित राखे। तर एमालेका जीवन घिमिरेले ६ हजार ९३३ मत मात्रै प्राप्त गरेपछि उनको जमानत जफत भयो।

यस क्षेत्रमा कुल ७९ हजार ७७५ मत खसेको थियो। त्यसमध्ये ७४ हजार ५१९ मत सदर र पाँच हजार २५६ मत बदर भएको थियो।

मोरङ–६ मा कांग्रेसका शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गर्दै जमानत सुरक्षित राखे। यता ८ हजार ३१७ मतसहित तेस्रो स्थानमा रहेका एमालेका विनोद ढकालको जमानत जफत भयो। सो क्षेत्रमा एमालेका ओपेन्द्र रायसहित १५ जना उम्मेदवारको जमानत जफत भएको निर्वाचन आयोग नेपालले जनाएको छ।

मोरङ–६ मा कुल ८९ हजार ८४७ मत खसेको थियो। त्यसमध्ये ८५ हजार २३३ मत सदर र चार हजार ६१६ मत बदर भएको थियो।

यस्तै मोरङ–५ मा ७८ हजार ५२९ मत खसेको थियो। त्यसमध्ये ७० हजार ५६० मत सदर र सात हजार ९६९ मत बदर भएको थियो। कांग्रेसका फुलकुमार लालवानी ९ हजार ४१५ मतसहित निकटतम प्रतिस्पर्धी बने।

जनता समाजवादी पार्टीका राजकुमार यादवले आठ हजार ७४७ मत प्राप्त गरे भने एमालेका मनोज अग्रवालले ६ हजार ९४५ मत पाएपछि उनको जमानत जफत भएको छ।

यसैगरी अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका राष्ट्रिय उर्जाशील पार्टीका योगेन्द्र मण्डलले चार हजार १९९ मत मात्रै प्राप्त गरेपछि उनको जमानत पनि जफत भएको छ।

प्रकाशित: २३ फाल्गुन २०८२ १८:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App