५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दलाई लामालाई ग्रामी अवार्ड, चीनको विरोध

फाइल तस्बिर

चीनले दलाई लामालाई ग्रामी अवार्ड दिएकोमा विरोध जनाएको छ। भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बती बौद्ध धर्मगुरु दलाई लामाले आइतबार आफ्नो अडियो पुस्तक ‘मेडिडेसन, दी रिफ्लेक्सन अफ हिज होलिनेस द दलाई लामा’ का लागि उक्त पुरस्कार प्राप्त गरेका थिए। 

अडियोबुक, कथावाचन र कथावस्तु प्रस्तुतिको विधामा प्रदान गरिएको सांगीतिक पुरस्कारलाई चीनले ‘चीनविरोधी राजनीतिक औजार’ भनेको छ। दलाई लामाले आफ्नो वेबसाइटमा जारी गरेको वक्तव्यमा सो पुरस्कारले ‘साझा विश्वव्यापी जिम्मेवारीको मान्यता’ दिएको बताएका छन्। ‘म यो सम्मान कृतज्ञता र विनम्रताका साथ स्वीकार गर्छु’, उनले भनेका छन्।

उता, चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले १४औँ दलाई लामा केवल धार्मिक व्यक्तित्व मात्र नभएर धर्मको आवरणमा चीनविरोधी पृथकतावादी गतिविधिमा संलग्न राजनीतिक निर्वासित व्यक्ति हुन् भनेकी छन्। ‘सम्बन्धित पक्षले यस पुरस्कारलाई चीनविरोधी राजनीतिक औजारका रूपमा प्रयोग गरेकोमा हामी कडा विरोध गर्छौँ’, उनले थपेकी छन्।

तिब्बत स्वतन्त्रता संघर्षको प्रतीकका रूपमा मानिने दलाई लामा सन् १९५९ देखि भारतमा निर्वासनमा बस्दै आएका छन्। सो वर्ष चिनियाँ सेनाले तिब्बती राजधानी ल्हासामा भएको विद्रोह दमन गरेको थियो। तिब्बतलाई स्वायत्त क्षेत्रका रूपमा शासन गर्दै आएको चीनमाथि तिब्बती भाषा, संस्कृति र पहिचान मेटाउने प्रयास गरेको आरोप लाग्दै आएको छ।

बेइजिङ र दलाई लामाबिच आध्यात्मिक नेताको भावी उत्तराधिकारीलाई विषयलाई लिएर पनि विवाद हुँदै आएको छ। तिब्बती बौद्ध धर्मावलम्बीहरू सन् १३९१ मा जन्मिएका पहिलो आध्यात्मिक नेताको पुनर्जन्म शृंखलाअन्तर्गत दलाई लामा रहेको विश्वास गर्छन्।

बेइजिङले अब घोषणा हुने दलाई लामा तिब्बतमै जन्मिने र सत्तारूढ कम्युनिस्ट पार्टीले मान्यता दिने बताउँदै आएको छ भने दलाई लामाले आफ्नो उत्तराधिकारी स्वतन्त्र देशबाट हुने र त्यस प्रक्रियामा चीनको कुनै भूमिका नरहने बताएका छन्।

प्रकाशित: २० माघ २०८२ ०९:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App