चीनमा लाइभ–स्ट्रिमिङ गर्ने ‘इन्फ्लुएन्सर’ हरूले अब कानुन, चिकित्सा, वित्त र शिक्षा जस्ता विषयमा बोल्न सम्बन्धित योग्यता प्राप्त गर्नुपर्ने भएको छ। यसबाहेक, नयाँ नियमहरूले लाइभ–स्ट्रिमिङकर्ताहरूलाई वास्तविक नाम प्रयोग गर्न र गलत जानकारी नदिन पनि बाध्य बनाएको छ।
चीनको राष्ट्रिय रेडियो तथा टेलिभिजन प्रशासनले जारी गरेको नयाँ नियममा यस्ता विषयमा जानकारी दिनुअघि योग्यता अनिवार्य गरिएको छ। मार्च २०२५ मा जारी दिशानिर्देशहरूले ३१ प्रकारका निषेधित व्यवहारहरू (जस्तै जुवा र हिंसालाई प्रोत्साहन) लाई पनि स्पष्ट पारेको छ।
‘लाइभ–स्ट्रिमिङले वैज्ञानिक र सांस्कृतिक ज्ञान फैलाउने, सांस्कृतिक जीवन समृद्ध बनाउने र आर्थिक तथा सामाजिक विकासलाई प्रवर्द्धन गर्ने महत्त्वपूर्ण जिम्मेवारी बोकेको छ,’ सूचनामा भनिएको छ। अब ‘इन्फ्लुएन्सर’ बन्न डिग्री वा प्रमाणपत्र जस्ता प्रमाणित व्यावसायिक योग्यताहरू आवश्यक हुनेछ। डुयिन, वेइबो र बिलिबिली जस्ता प्लेटफर्महरू यी प्रमाणहरू प्रमाणित गर्नका लागि जिम्मेवार छन्। नियम नमानेमा एक लाख युआनसम्म जरिवाना वा खाता निलम्बनसम्मका कारबाही हुन सक्छ।
नयाँ नियमले ‘सकारात्मक, स्वस्थ र व्यवस्थित इन्टरनेट वातावरण’ बनाउने लक्ष्य राखिएको छ। यसमा लाइभ–स्ट्रिमिङ गर्ने व्यक्तिहरूलाई जुवा, हिंसा, लागूपदार्थ प्रयोग वा ‘चीनको कम्युनिस्ट पार्टी र समाजवादी प्रणालीलाई कमजोर बनाउने’ सामग्री प्रसारण गर्न निषेध गरिएको छ। साथै, ‘मुकबाङ’ जस्ता अत्यधिक खाने प्रवृत्तिलाई पनि प्रतिबन्ध लगाइएको छ।
यी नियमहरू चीनको बढ्दो लाइभ–स्ट्रिमिङ उद्योगमाथि कडाइ गर्न ल्याइएका हुन्।
यसै महिना ‘इन्फ्लुएन्सर’ ली जियाकीले १९८९ को तियानमेन नरसंहारको एक दिनअघि ट्यांक आकारको आइसक्रिम प्रचार गरेपछि अचानक अनलाइनबाट हराएका थिए। एजेन्सी
प्रकाशित: ११ कार्तिक २०८२ १४:१३ मंगलबार



-600x400.jpg)

