२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दशक लामो तिक्तता छोडेर नयाँ अध्याय सुरु गर्ने तयारीमा चीन-क्यानडा

चीन र क्यानडाका नेताहरूले वर्षौंको तिक्तता पछि सम्बन्ध सुधार गर्ने वाचा गरेका छन्। नयाँ विश्वव्यापी चुनौतीहरूको सामना गर्दै शुक्रबार चिनियाँ राष्ट्रपति सी जिनपिङ र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले भेट गरेका हुन्।

भेटमा दुवैले सम्बन्ध सुधार गर्न निरन्तर काम गर्न इच्छुक रहेकोमा जोड दिए। दक्षिण कोरियामा क्षेत्रीय आर्थिक सम्मेलनमा गत अक्टोबरमा दुई जनाबीच प्रारम्भिक भेट भएको थियो। त्यसपछि नै सहयोग पुनर्स्थापित गर्न र पुनः सुरु गर्ने विषयमा वार्ता भइरहेको थियो।

‘गत वर्ष हाम्रो बैठकले चीन-क्यानडा सम्बन्धलाई सुधारतर्फ डोऱ्याउन नयाँ अध्याय खोलेको भन्न सकिन्छ,’ सीले भने।

झण्डै एक दशकमा कार्नी चीन भ्रमण गर्ने पहिलो क्यानेडाली प्रधानमन्त्री हुन्। उनका अनुसार बेइजिङसँगको राम्रो सम्बन्धले विश्वव्यापी शासन प्रणालीलाई सुधार गर्न मद्दत गर्नेछ।

उनले ‘नयाँ विश्वव्यापी वास्तविकता अनुरूप’ नयाँ सम्बन्ध र कृषि, ऊर्जा र वित्तमा सहकार्यको लागि आह्वान गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अमेरिका पहिले नीतिबीच उनको चीन भ्रमण भएको हो। ट्रम्पले लगाएको करले क्यानाडा र चिनियाँ दुवै अर्थतन्त्रलाई असर गरेको छ। बेइजिङमा धेरै अग्रणी चिनियाँ कम्पनीहरूसँग भेट गरिसकेका कार्नीले आफ्नो यात्रा अघि सरकार विश्वव्यापी व्यापार अवरोधको समयमा अमेरिकामा कम निर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित रहेको कुरा भनेका थिए।

सम्बन्धमा एक जटिल बिन्दु मानिएको चीन र क्यानडा बीचको भन्सार शुल्कको बारेमा कुनै घोषणा गरिएको छैन।

कार्नीका पूर्ववर्ती जस्टिन ट्रुडोको कार्यकालमा क्यानडाले चीनबाट आउने विद्युतीय सवारी साधनमा १०० प्रतिशत र स्टील र आल्मुनियममा २५ प्रतिशत कर लगाएर अमेरिकालाई पछ्याएको थियो।

चीनले क्यानेडियन क्यानोला तेल र खानामा १०० प्रतिशत र सुँगुरको मासु र समुद्री खानामा २५ प्रतिशत शुल्क लगाएर जवाफ दिएको थियो। क्यानडा जस्ता सहयोगी देशहरूमाथि ट्रम्पको दबाब दिने रणनीतिले उनीहरूलाई अमेरिकासँग कम मिल्दो विदेश नीति अपनाउन बाध्य गर्ने आशा चीनको छ। 

ट्रम्पले पटक-पटक क्यानडालाई अमेरिकाको ५१ औं राज्य बनाउने दाबी गर्दै आएका छन्।

बीबीसीका अनुसार भेटमा दुवै नेताहरूले द्विपक्षीय सम्बन्धमा भएको प्रगतिको बारेमा सकारात्मक कुराकानी गरेका छन्।

सीले सम्बन्धमा आएको परिवर्तनको प्रशंसा गरे भने कार्नीले नयाँ सम्बन्ध निर्माण गर्ने कुरा गरे र दुवै पक्षलाई कृषि, ऊर्जा र वित्तमा ध्यान केन्द्रित गर्न आग्रह गरेका छन्।

सीले कार्नीलाई दुई देशहरू कसरी राम्रो साझेदार हुन सक्छन् भन्ने बारेमा चार प्रस्ताव पनि राखे, जसमा सम्मान, विश्वास, साझा विकास र पारस्परिक समन्वयलाई जोड दिइएको छ।

अमेरिकी वारेन्टमा भ्यानकुभरमा हुवावेका एक शीर्ष अधिकारीलाई पक्राउ गरेपछि ओटावा र बेइजिङबीचको लगभग एक दशकको तनावपूर्ण सम्बन्ध पछि यो बैठक भएको हो। यसअघि कार्नीले चिनियाँ प्रधानमन्त्री ली छियाङलाई पनि भेटेका थिए। एजेन्सी 

प्रकाशित: २ माघ २०८२ १३:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App