आइतबार ब्राजिलमा राष्ट्रपतीय चुनावको पहिलो चरणमा मतदान हुँदा मतदातामा निकै उत्साह देखियो। वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र दक्षिणपन्थी सिनेटर फ्लाभियो बोल्सोनारोबिचको कडा प्रतिस्पर्धाले ब्राजिलको आगामी राजनीतिक दिशा मात्र होइन, ल्याटिन अमेरिकामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रभावलाई समेत परीक्षण गर्ने अवस्था बनाएको छ।
करिब १६ करोड मतदाता सहभागी चुनावमा ८० वर्षीय लुला चौथो कार्यकालका लागि मैदानमा थिए। उनका मुख्य प्रतिस्पर्धी ४५ वर्षीय फ्लाभियो बोल्सोनारो पूर्वराष्ट्रपति जैर बोल्सोनारोका छोरा हुन्। ट्रम्पसँग नजिक रहेका फ्लाभियो आफ्ना बुबाको दक्षिणपन्थी राजनीतिक विरासतलाई अघि बढाउने प्रयासमा छन्।
ब्राजिलको चुनावमा ट्रम्पको प्रभाव देखिएको अर्को पक्ष फ्लाभियोको अमेरिकी प्रशासनसँगको निकटता हो। उनले ट्रम्प प्रशासनसँग राम्रो सम्बन्ध कायम गर्ने र अमेरिकासँग आर्थिक तथा सुरक्षा सहकार्य बढाउने पक्षमा जोड दिँदै आएका छन्। दुर्लभ खनिजदेखि अपराध नियन्त्रणसम्मका विषयमा अमेरिकासँग सहकार्य गर्नुपर्ने उनको धारणा छ।
ट्रम्पले भने फ्लाभियोलाई औपचारिक रूपमा समर्थन गरेका छैनन्, तर उनले चुनावअघि ब्राजिलको राष्ट्रपतीय चुनावलाई ‘धेरै नजिकबाट’ हेरिरहेको बताएका थिए। बिहीबार ह्वाइटहाउस बाहिर पत्रकारसँग कुरा गर्दै ट्रम्पले ब्राजिल ‘धेरै महत्त्वपूर्ण देश’ भएको बताए। ‘ब्राजिलका जनता उत्कृष्ट छन्। यो महत्त्वपूर्ण चुनाव हो’, उनले भने।
अमेरिकी हस्तक्षेपको आरोप
ट्रम्पबाट आएको यस्तो अभिव्यक्तिलाई लुला पक्षले ब्राजिलको चुनावमा अमेरिकी हस्तक्षेपको संकेतका रूपमा व्याख्या गरेको छ। ट्रम्पले यसअघि पूर्वराष्ट्रपति जैर बोल्सोनारोविरुद्धको मुद्दालाई लिएर पनि खुलेर प्रतिक्रिया दिएका थिए। सन् २०२२ को चुनावमा लुलासँग पराजित भएपछि सत्ता उल्ट्याउने प्रयास गरेको अभियोगमा जैर बोल्सोनारोलाई दोषी ठहर गरी २७ वर्षको जेल सजाय सुनाइएको छ। ट्रम्पले उक्त मुद्दालाई ‘विच हन्ट’ अर्थात् राजनीतिक प्रतिशोधका रूपमा आलोचना गरेका थिए।
यही कारण ब्राजिलको चुनावलाई पछिल्लो समय ल्याटिन अमेरिकामा बलियो हुँदै गएको ट्रम्पसँग नजिक रहेको दक्षिणपन्थी धारको महत्त्वपूर्ण परीक्षणका रूपमा हेरिएको छ। फ्लाभियो विजयी भए ट्रम्पसँग नजिक रहेको अर्को सरकार दक्षिण अमेरिकाको सबैभन्दा ठुलो देशमा बन्नेछ। पछिल्ला वर्षमा अर्जेन्टिनालगायतका देशमा दक्षिणपन्थी शक्ति सत्तामा आउनु र अन्य ल्याटिन अमेरिकी देशमा पनि त्यस्ता शक्तिको प्रभाव बढ्नुले क्षेत्रीय राजनीतिमा यो धार बलियो बन्दै गएको देखिन्छ। ब्राजिल भने अझै वामपन्थी नेतृत्वमा रहेको प्रमुख देश हो। त्यसैले यहाँको सत्ता परिवर्तनले क्षेत्रीय राजनीतिक सन्तुलनमा असर पार्न सक्ने विश्लेषण हुँदै आएको छ।
लुलाले भने अमेरिकी प्रभावको विपक्षमा आफूलाई उभ्याउँदै आएका छन्। उनले ब्राजिलको आन्तरिक राजनीतिमा विदेशी हस्तक्षेप स्वीकार नगर्ने बताएका छन्। ट्रम्प प्रशासनले ब्राजिलमाथि व्यापारिक दबाब बढाएपछि लुलाले देशको सार्वभौमसत्ता र आफ्नै निर्णय गर्ने अधिकारलाई चुनावी अभियानको महत्त्वपूर्ण विषय बनाए।
उनले ट्रम्प प्रशासनमाथि ब्राजिलको राजनीतिमा हस्तक्षेप गर्न खोजेको आरोपसमेत लगाएका थिए। अमेरिकी प्रशासनले ब्राजिलमाथि लगाएको व्यापार शुल्क, ब्राजिलका अधिकारीमाथिका प्रतिबन्ध र सर्वोच्च अदालतसँग जोडिएका विषयलाई लिएर लुलाले पटकपटक वासिङ्टनको आलोचना गरेका छन्। चुनावअघि अमेरिकी सरकारी कोष ब्राजिलको सर्वोच्च अदालतविरोधी अभियानमा प्रयोग गर्ने योजनासम्बन्धी रिपोर्ट सार्वजनिक भएपछि पनि यस विषयले चर्चा पाएको थियो।
सुरक्षा र एजेन्डाको लडाइँ
फ्लाभियोले भने सुरक्षा र अपराध नियन्त्रणलाई आफ्नो अभियानको प्रमुख मुद्दा बनाएका छन्। उनले आपराधिक समूहविरुद्ध कडा कदम चाल्ने, लामो जेल सजायको पक्षमा उभिने र सुरक्षासम्बन्धी कानुन थप कडा बनाउने धारणा अघि सारेका छन्। धार्मिक स्वतन्त्रता र कृषि क्षेत्रका नियमलाई खुकुलो बनाउने विषय पनि उनका चुनावी एजेन्डामा समेटिएका छन्। फ्लाभियोको अभियानमा उनका बुबा जैर बोल्सोनारोको प्रभाव पनि स्पष्ट देखियो।
जैर बोल्सोनारोलाई सन् २०२२ को चुनावको परिणाम उल्ट्याउन सत्ता कब्जाको प्रयास गरेको अभियोगमा २७ वर्षको जेल सजाय सुनाइएको छ। स्वास्थ्य समस्याका कारण उनी हाल घरमै नजरबन्दमा छन्। फ्लाभियोले आफू राष्ट्रपति बने बुबालाई जेलबाट मुक्त गर्ने र उनलाई पुनः राजनीतिमा फर्काउने वाचा गरेका छन्।
लुलाले भने सामाजिक कार्यक्रम, गरिबी न्यूनीकरण, वातावरण संरक्षण र लोकतन्त्रलाई चुनावी अभियानको आधार बनाएका थिए। उनको पहिलो दुई कार्यकालमा गरिब परिवारलाई सहयोग गर्ने सामाजिक कार्यक्रम विस्तार भएको थियो। पछिल्लो कार्यकालमा अमेजन क्षेत्रमा वन फडानी घटेको विषयलाई पनि उनले आफ्नो सरकारको उपलब्धिका रूपमा प्रस्तुत गर्दै आएका छन्, तर लुलाका लागि चुनाव सहज देखिएको थिएन।
आर्थिक अवस्था, जीवनयापनको बढ्दो खर्च र भ्रष्टाचारसँग जोडिएका विवादले उनको अभियानमा चुनौती थपे। फ्लाभियोसँग जोडिएको बैंकिङ विवादले पनि चुनावको अन्तिम समयमा चर्चा पायो। दुवै पक्षसँग जोडिएका विवाद र आरोपले चुनावी बहसलाई थप तातेको थियो।
भावी परिदृश्य
मतदानअघि सार्वजनिक अन्तिम सर्वेक्षणमा लुला ४५ प्रतिशत र फ्लाभियो ४२ प्रतिशत वैध मतमा देखिएका थिए। सर्वेक्षणको त्रुटि सीमा दुई प्रतिशत रहेकाले यो अन्तरलाई प्राविधिक रूपमा निकै नजिकको प्रतिस्पर्धा मानिएको थियो। सम्भावित दोस्रो चरणमा पनि दुवैबिचको प्रतिस्पर्धा निकै नजिक देखिएको थियो।
कुनै उम्मेदवारले पहिलो चरणमै ५० प्रतिशतभन्दा बढी मान्य मत नल्याए अक्टोबर २५ मा सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेदवारबिच दोस्रो चरणको चुनाव हुनेछ। पहिलो चरणमा अन्य उम्मेदवारतर्फ गएको मत दोस्रो चरणमा कसको पक्षमा जान्छ भन्ने विषयले अन्तिम परिणाममा महत्त्वपूर्ण भूमिका खेल्नेछ।
राष्ट्रपति पदबाहेक आइतबार भएको निर्वाचनमार्फत २७ राज्यका गभर्नर, राज्यका सांसद, संघीय कांग्रेसका सबै ५१३ सदस्य र ८१ सदस्यीय सिनेटमध्ये ५४ सदस्य छनोट गर्न पनि मतदान भएको छ। त्यसैले राष्ट्रपतीय चुनावसँगै संसद् र राज्य सरकारमा शक्ति सन्तुलन कता जान्छ भन्ने विषय पनि महत्त्वपूर्ण बनेको छ।
ब्राजिलको चुनावको परिणामले देशको विदेश नीतिदेखि अमेरिकासँगको सम्बन्धसम्म प्रभाव पार्नेछ। फ्लाभियो विजयी भए ट्रम्पसँग नजिक रहेको दक्षिणपन्थी धारले ल्याटिन अमेरिकामा थप बल पाउनेछ। लुला पुनः सत्तामा रहे भने ब्राजिल ट्रम्पको प्रभावलाई चुनौती दिँदै वामपन्थी धारमै रहनेछ।
यसकारण ब्राजिलको चुनाव नयाँ राष्ट्रपति छान्ने प्रतिस्पर्धामा मात्र सीमित छैन। ल्याटिन अमेरिकामा बढिरहेको दक्षिणपन्थी धार, अमेरिकी प्रभाव र ट्रम्पको क्षेत्रीय नीतिको प्रभाव कति बलियो छ भन्ने देखाउने महत्त्वपूर्ण राजनीतिक परीक्षाका रूपमा पनि यो चुनावलाई हेरिएको छ। एजेन्सीको सहयोगमा
प्रकाशित: १८ आश्विन २०८३ २०:४३ आइतबार





