१८ श्रावण २०८३ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बिहार उपचुनाव : भाजपालाई पछि पार्दै प्रशान्त किशोरको बलियो अग्रता

अन्य राज्यमा पनि मतगणना जारी

भारतमा विद्यार्थी आन्दोलनपछि भएका विधानसभा उपचुनावमा भाजपा पछाडि देखिएको छ। तीन सिटको मतगणना जारी रहँदा भाजपा एकमा मात्र अगाडि देखिएको छ।

बिहारको बाँकीपुर विधानसभा उपचुनावको मतगणनामा जनसुराज पार्टीका संस्थापक प्रशान्त किशोरले सुरुवादेखि नै स्थिर अग्रता कायम गरेका छन्। १८ औं चरणको मतगणना समाप्त हुँदा उनले आफ्ना भारतीय जनता पार्टी (भाजपा) प्रतिद्वन्द्वी नीरज कुमारलाई १० हजारभन्दा धेरै मतान्तरले पछि पारेका हुन्।

बाँकीपुरलाई भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनको परम्परागत सिट मानिन्छ, जहाँ उनी लगातार पाँच कार्यकालसम्म विधायक रहेका थिए। उनी अप्रिलमा राज्यसभामा निर्वाचित भएपछि पद त्यागेका कारण यो सिट खाली भएको थियो, जसमा जुलाई ३० मा ३४.३० प्रतिशत मतदान भएको थियो। यस पटक कुल २६ जना उम्मेदवारहरू चुनावी मैदानमा छन्।

पछिल्लो मतगणनाको विवरण अनुसार प्रशान्त किशोरले ३५ हजार ७१३ मत प्राप्त गरेका छन् भने भाजपाका नीरज कुमारले २५ हजार २७७ मत ल्याएका छन्। पटनास्थित जनसुराज कार्यालयमा कार्यकर्ताहरूले उत्सव मनाउन थालेका छन्। अर्कीतिर भाजपा कार्यालय बाहिर शान्त वातावरण देखिएको छ।

प्रशान्त किशोरले यस चुनावमा आफ्नो पहिलो चुनावी लडाइँ लडेका हुन्। उनी पहिले राजनीतिक रणनीतिकारका रूपमा चिनिन्थे। बाँकीपुर भाजपाको बलियो गढ मानिन्छ। नितिन नवीनले गत वर्षको चुनावमा ठूलो मतान्तरले जितेका थिए। कम मतदान भए पनि जनसुराजले यहाँ बलियो उपस्थिति देखाएको छ। मतगणना अझै जारी छ र प्रशान्त किशोरको अग्रता बढ्दो क्रममा छ।

यसैबीच, बिहारलगायत मध्य प्रदेश र गुजरातका तीन विधानसभा सिटमा पनि जुलाई ३० मा भएको उपचुनावको मतगणना भइरहेको छ। मध्य प्रदेशको दतियामा कांग्रेस उम्मेदवार घनश्याम सिंह ९ हजार ५१९ मतले अगाडि छन्। नवौं चरणको मतगणनापछि उनले ४४ हजार ९५८ मत प्राप्त गरेका छन् भने भाजपाका आशुतोष तिवारीले ३५ हजार ४३९ मत पाएका छन्। कुल १५ चरणमध्ये ९ चरण पूरा भइसकेका छन्। बाँकी ६ चरणको गणना बाँकी छ।

गुजरातको मन्जलपुरमा भाजपाका सतेन्द्रभाई पटेल (सतीश पटेल) को जित लगभग निश्चित बनेको छ। उनले ठूलो मतान्तरले अग्रता कायम राखेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भिखाभाई रबारी धेरै पछाडि छन्। यो सिट भाजपा विधायकको निधनपछि खाली भएको थियो। भाजपाले यहाँ बलियो अग्रता कायम राखेको छ।

प्रकाशित: १८ श्रावण २०८३ १५:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App