२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मणिपुरमा मोदीको भ्रमणपछि आक्रमण : दुई सैनिकको मृत्यु, पाँच घाइते

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मणिपुर भ्रमण गरेको एक सातापछि भएको आक्रमणमा दुई भारतीय जवान मारिएका छन्। त्यहाँको विष्णुपुरमा शुक्रबार साँझ हतियारधारी समूहले आसाम राइफल्सको गाडीमा आक्रमण गर्दा दुई जवानको मृत्यु भएको हो।

यो घटनामा पाँच जना घाइते भएका छन्। भारतीय सेनाको रक्षा जनसम्पर्क अधिकृतका अनुसार आक्रमण स्थानीय समय अनुसार साँझ ५:५० बजे भएको थियो। यो समयमा ३३ आसाम राइफल्सका जवानहरू पात्सोईबाट नाम्बोलतर्फ जाँदै थिए। 

‘पछिल्लो कारबाहीमा आसाम राइफल्सका दुई जवान शहीद भए र पाँच जना घाइते भए, जसलाई रिम्समा सारिएको छ। उनीहरूको अवस्था स्थिर छ,’ अधिकृतले भने, ‘अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन। आक्रमणकारीलाई पक्रन खोजी जारी छ,’ उनले थपे।

मणिपुरका गभर्नर अजय कुमार भल्लाले आक्रमणको निन्दा गर्दै भने, ‘यस्ता जघन्य हिंसात्मक कार्यहरू सहन गरिने छैन।’ उनले मृतक जवानका परिवारप्रति समवेदना व्यक्त गरेर घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरे। 

पूर्व मुख्यमन्त्री एन बिरेन सिंहले पनि आक्रमणको निन्दा गरे। उनले भने, ‘नाम्बोलमा ३३ आसाम राइफल्सका जवानमाथि भएको आक्रमणले म स्तब्ध छु। दुई जवानको मृत्यु र धेरै घाइते हुनु ठूलो क्षति हो। मृतकका परिवारप्रति समवेदना र घाइतेको स्वास्थ्यलाभको कामना गर्छु।’ ‘उनीहरूको साहस सधैं स्मरणीय रहनेछ। दोषीले कडा सजाय पाउनुपर्छ,’ उनले थपे। 

भारतीय प्रधानमन्त्री मोदीले १३ सेप्टेम्बरमा मणिपुरको भ्रमण गरेका थिए।

प्रकाशित: ४ आश्विन २०८२ ११:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App