२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजरायली हवाई हमलामा अल जजिराका पत्रकार शरीफको मृत्यु

तस्बिर: एएफपी

आइतबार भएको इजरायली हवाई हमलामा परि अल जजिराका एक प्रख्यात पत्रकार अनस अल-शरीफ र उनका चार सहकर्मीको मृत्यु भएको छ।

इजरायली सेनाले अनस अल-शरीफलाई निशाना बनाएर हत्या गरेको स्वीकार गर्दै उनले हमासको लडाकु समूहको नेतृत्व गरिरहेको र इजरायलमा रकेट हमलामा संलग्न रहेको आरोप लगाएको छ।

यता, कतार सरकारद्वारा सञ्चालित अल जजिराले इजरायलको उक्त दाबीलाई अस्वीकार गरेको छ। मृत्युअघि स्वयं शरीफले पनि इजरायलले लगाएका यस्ता आरोपहरूलाई खारेज गरेका थिए।

गाजाका अधिकारीहरू र अल जजिराका अनुसार २८ वर्षीय शरीफ, अन्य तीन पत्रकार र एक सहायकसहितको टोलीको पूर्वी गाजा शहरस्थित अल शिफा अस्पताल नजिकैको एउटा टेन्टमा भएको हमलामा मृत्यु भएको हो।

अस्पतालका एक अधिकारीले सो हमलामा अन्य दुई जनाको पनि मृत्यु भएको बताए। सोमबार अल शिफा अस्पतालका स्वास्थ्यकर्मीहरूले अर्का एक स्वतन्त्र पत्रकार मोहम्मद अल-खाल्दीको पनि सोही हमलामा मृत्यु भएको पुष्टि गरेका छन्।

अल जजिराले शरीफलाई गाजाका सबैभन्दा साहसी पत्रकारहरू मध्ये एक भन्दै यो हमला गाजामा कब्जा जमाउने तयारीअघि आवाजहरूलाई दबाउने हताश प्रयास भएको टिप्पणी गरेको छ। मारिने अन्य पत्रकारहरूमा मोहम्मद क्रेकेह, इब्राहिम जाहेर र मोहम्मद नौफल रहेको अल जजिराले जनाएको छ।

‘गाजा पट्टीमा इजरायलले जानाजानी पत्रकारहरूलाई निशाना बनाउनुले यी अपराधहरू कल्पनाभन्दा बाहिर छन् भन्ने देखाउँछ,’ कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल-थानीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।

इजरायली सेनाले एक विज्ञप्ति जारी गर्दै शरीफले हमासको समूहको नेतृत्व गरेको र इजरायली नागरिक तथा सैनिकमाथि रकेट हमला गर्न जिम्मेवार रहेको बताएको छ।

यसको प्रमाणका रूपमा गाजामा भेटिएका गुप्तचर सूचना र कागजातहरूलाई उद्धृत गरिए पनि ती सार्वजनिक गरिएका छैनन्।

इजरायलले जानाजानी पत्रकारहरूलाई निशाना बनाएको कुरा अस्वीकार गर्दै आएको छ। उसका अनुसार हवाई हमलामा मारिएका धेरैजसो व्यक्तिहरू प्रेसको आडमा काम गर्ने इस्लामी लडाकु समूहका सदस्य थिए।

सोमबार, गाजाको शेख रदवान चिहानमा पत्रकारहरूको अन्तिम संस्कारका लागि मानिसहरूको भीड लागेको थियो। साथी, सहकर्मी र आफन्तहरूले एकअर्कालाई अँगालो हालेर सान्त्वना दिइरहेका थिए।

शरीफ यसअघि सन् २०२४ मा इजरायल-हमास युद्धको कभरेजका लागि ब्रेकिङ न्यूज फोटोग्राफी विधामा पुलित्जर पुरस्कार जित्ने रोयटर्सको टोलीका सदस्य थिए।

‘कस्ट्स अफ वार’ परियोजनाका अनुसार इजरायल र हमासबीचको यो युद्ध पत्रकारहरूका लागि अहिलेसम्मकै सबैभन्दा घातक हो।

हमासद्वारा सञ्चालित गाजा सरकारी मिडिया कार्यालयका अनुसार युद्ध सुरु भएयता २३८ पत्रकार मारिएका छन् भने ‘कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स’ का अनुसार कम्तिमा १८६ पत्रकार मारिएका छन्।

यसअघि एक प्रेस स्वतन्त्रता समूह र संयुक्त राष्ट्रसंघका विज्ञले शरीफको जीवन खतरामा रहेको चेतावनी दिएका थिए। संयुक्त राष्ट्रसंघकी विशेष प्रतिवेदक आइरिन खानले गत महिना इजरायलले उनीविरुद्ध लगाएका आरोपहरू आधारहीन भएको बताएकी थिइन्।

मृत्युअघि रेकर्ड गरिएको सन्देश

अल जजिराका अनुसार शरीफले आफ्नो मृत्यु भएमा पोस्ट गर्नका लागि एउटा सन्देश छोडेका थिए, जसमा लेखिएको थियो, ‘...म सत्यलाई जस्ताको तस्तै, बिना कुनै तोडमोड वा गलत प्रस्तुति, प्रस्तुत गर्न कहिल्यै हिचकिचाइनँ, यो आशामा कि मौन बस्नेहरूलाई भगवानले देख्नेछन्।’

गत अक्टोबरमा इजरायली सेनाले शरीफलाई हमास र प्यालेस्टिनी इस्लामिक जिहादका सदस्य भएको आरोप लगाउँदै ६ जना पत्रकारको नाम सार्वजनिक गरेको थियो।

यसैबीच, सिपिजेले एक विज्ञप्ति जारी गर्दै इजरायलले शरीफविरुद्ध लगाएका आरोपहरूलाई पुष्टि गर्ने कुनै प्रमाण दिन नसकेको बताएको छ।

आफ्नो मृत्यु हुनुभन्दा केही मिनेटअघि ५ लाखभन्दा बढी फलोअर्स भएको आफ्नो ‘एक्स’ अकाउन्टमा शरीफले इजरायलले गाजा शहरमा दुई घण्टाभन्दा बढी समयदेखि भीषण बमबारी गरिरहेको पोस्ट गरेका थिए।

गाजामा शासन गरिरहेको प्यालेस्टिनी लडाकु समूह हमासले यो हत्या इजरायली आक्रमणको सुरुवात हुन सक्ने संकेत भएको बताएको छ।

‘पत्रकारहरूको हत्या र बाँचेकाहरूलाई धम्क्याउनु भनेको कब्जाकर्ताले गाजा शहरमा गर्न लागेको ठूलो अपराधको लागि बाटो तयार पार्नु हो,’ हमासले भनेको छ।

प्रकाशित: २६ श्रावण २०८२ १७:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App