२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भेनेजुएलापछि ग्रीनल्याण्डमा ट्रम्पको नजर, भन्छन् : हामीलाई पूर्ण रूपमा चाहिन्छ

डेनमार्ककी प्रधानमन्त्रीले दिइन जवाफ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा सैन्य कारबाही गरेपछि ग्रीनल्याण्डलाई लिएर पुरानै अडान दोहोर्‍याएका छन्। 

एट्लान्टिक पत्रिकालाई दिएको टेलिफोन अन्तर्वार्तामा ट्रम्पले हाल डेनमार्कको नियन्त्रणमा रहेको ग्रीनल्याण्ड अमेरिकालाई ‘पूर्ण रूपमा’ चाहिने बताएका हुन्।

ग्रीनल्याण्डबारे पत्रकारको प्रश्नमा ट्रम्पले यो टापु रुसी र चिनियाँ जहाजले ‘घेरिएको’ आरोप लगाउँदै अमेरिकालाई यो आवश्यक रहेको दाबी गरेका छन्।

‘हामीलाई ग्रीनल्याण्ड चाहिन्छ, बिल्कुल...’ उनले भने, ‘यो रुसी र चिनियाँ जहाजले घेरिएको छ।’ भेनेजुएलाको सैन्य कारबाहीले ग्रीनल्याण्ड कब्जा गर्न सैन्य बल प्रयोग गर्ने संकेत गर्छ भनेर सोध्दा ट्रम्पले स्पष्ट जवाफ दिएनन्। उनले निर्णय अरूलाई छोडेका छन्।

‘उनीहरूले आफैँ हेर्नुपर्नेछ। मलाई साँच्चै थाहा छैन... थाहा छ, म त्यति बेला ग्रीनल्याण्डको कुरा गरिरहेको थिइनँ। तर हामीलाई ग्रीनल्याण्ड चाहिन्छ, बिल्कुल। हाम्रो रक्षाका लागि यो चाहिन्छ,’ उनले थपे।

ट्रम्प र उनको टोलीले ग्रीनल्याण्डबारे दिएको यो पहिलो बयान होइन। पहिलो कार्यकालमा ट्रम्पले ग्रीनल्याण्ड किन्न खोजेका थिए। तर डेनमार्कले अस्वीकार गरेको थियो। जनवरी २०२५ देखि दोस्रो पटक ह्वाइट हाउस फर्किएका ट्रम्पले सुरक्षाको कारण देखाउँदै बारम्बार अमेरिकाले ग्रीनल्याण्ड लिनुपर्ने बताउँदै आएका छन्।

ट्रम्पको भनाइपछि डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले अमेरिकालाई यस्तो धम्की दिन बन्द गर्न भनेकी छिन्। उनले अमेरिकासँग ग्रीनल्याण्ड कब्जा गर्ने अधिकार नभएको बताइन्। यसबिच डेनमार्कले टापुको रक्षा मजबुत बनाएको छ। स्वायत्तता उपभोग गर्ने टापुका बासिन्दा ट्रम्पको विचारप्रति उत्साहित छैनन्। एजेन्सी

प्रकाशित: २१ पुस २०८२ ११:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App