प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जिल्लामा मतदान जारी छ। जिल्लाको १६४ मतदान केन्द्रमा बिहान ७ बजेबाट सुरु भएको मतदान उत्साहपूर्वक रूपमा भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
जिल्लामा शान्तिपूर्ण रूपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिइन्। जिल्लाका सबै मतदानस्थलमा सुरक्षा व्यवस्था मजबुत रहेको र जिल्लाको सबै क्षेत्रसहित सीमामा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाली कांग्रेसका उम्मेदवार दीपनकुमार श्रेष्ठले खाँदबारी-१ टुँडिखेल मतदान केन्द्रबाट मतदान गरे।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार अर्जुन कार्कीले खाँदबारी-९ को मनकामना रत्न अम्बिका माविको मतदान केन्द्रबाट मतदान गरेका छन्। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सरिता थापाले पाँच खपन– ९ जलजलबाट मतदान गरेकी छन्।
जिल्लामा ६२ हजार १७२ पुरुष र ५७ हजार ४५८ महिलासहित एक लाख १९ हजार ६३० मतदाता छन्। जिल्लामा १०९ मतदानस्थल र १६४ मतदान केन्द्र छन्।
सङ्खुुवासभामा एक स्वतन्त्र, तीन महिलासहित १६ जना चुनावी मैदानमा छन्। प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्रमा रहेको यस जिल्लामा एक अस्थायीसहित १६५ मतदान केन्द्र छन्।
त्यस्तैगरी मतगणनाका जिल्ला समन्वय समितिको सभाहलमा मतगणनास्थल समेत तयार पारिसकिएको छ। गणनास्थलको झ्याल–ढोकामा तार जालीको अग्लो बार लगाइएको छ। गणनास्थलमा सिसी क्यामेरा र तारजालीसहितको सुरक्षा व्यवस्था छ। प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाभर ९८४ कर्मचारी खटिएका छन्।
प्रकाशित: २१ फाल्गुन २०८२ १३:३८ बिहीबार





