३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हमासद्वारा युद्धविराम प्रस्तावको जवाफपछि इजरायली वार्ताकारलाई फिर्ता बोलाइयो

इजरायलले गाजामा करिब दुई वर्षदेखि जारी विनाशकारी युद्ध अन्त्यका लागि अन्तर्राष्ट्रिय दबाब बढेपछि गाजामा हमाससँगको युद्धविरामका लागि खटाइएका वार्ताकारलाई फिर्ता बोलाएको जनाएको छ।

इजरायल र हमासका प्रतिनिधिमण्डलबीच कतारमा दुई हप्ताभन्दा बढी समयदेखि मध्यस्थकर्ताबीच वार्ता भइरहेको छ, तर अप्रत्यक्ष वार्ताले अहिलेसम्म कुनै सार्थकता पाउन सकेको छैन।

गाजा पट्टीमा २० लाखभन्दा बढी प्यालेस्टिनीहरूको दुर्दशालाई लिएर अन्तर्राष्ट्रिय चिन्ता बढ्दै गएको छ, जहाँ लडाईंले गम्भीर मानवीय सङ्कट निम्त्याएको छ र ‘ठूलो सङ्ख्यामा भोकमरी’ फैलिरहेको चेतावनी दिएको छ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले हमासले युद्धविरामको पछिल्लो प्रस्तावमा मध्यस्थकर्तालाई जवाफ बुझाएपछि इजरायली वार्ताकारलाई परामर्शका लागि फिर्ता ल्याउन लागिएको जनाएको छ।

नेतन्याहूको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'हामी मध्यस्थकर्ता कतार र इजिप्टको प्रयास र अमेरिकी विशेष दूत स्टिभ विटकोफको प्रयासको सराहना गर्दछौँ।'

वार्तामा संलग्न एक प्यालेस्टिनी स्रोतले एएफपीलाई बताएअनुसार हमासको प्रतिक्रियामा सहायता प्रवेशसम्बन्धी धारामा प्रस्तावित संशोधन, इजरायली सेना फिर्ता हुनुपर्ने क्षेत्रहरूको नक्सा र युद्धको स्थायी अन्त्य सुनिश्चित गर्ने ग्यारेन्टी समावेश छ।

ह्वाइट हाउसले बुधबार अमेरिकी राजदूत विटकोफले युद्धविराम प्रस्तावबारे छलफल गर्न यस क्षेत्रका ‘प्रमुख नेताहरू’सँग भेटघाट गरिरहेको जनाएको छ।

विटकोफ बिहीबार इटालियन टापु सार्डिनियामा रहेको इजरायली सञ्चार माध्यमले जनाएका छन्। एजेन्सी 

प्रकाशित: ९ श्रावण २०८२ ०६:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App