सात वर्षपछि चीन भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका छन्।
दुई नेताबीच करिब ५० मिनेट चलेको भेटवार्तामा सीमा विवाददेखि द्विपक्षीय सम्बन्ध सुधारका विषयमा कुराकानी भएको थियो।
भेटका क्रममा राष्ट्रपति सीले भारत र चीनलाई ‘हात्ती’ र ‘ड्रागन’ को संज्ञा दिँदै दुवै देश अब सँगै अघि बढ्नुपर्ने बताएका थिए। ‘प्रधानमन्त्री मोदीलाई भेट्न पाउँदा खुसी लागेको छ। ड्रागन (चीन) र हात्ती (भारत) सँगै आउनुपर्छ,’ राष्ट्रपति सीको भनाइ थियो।
त्यसैगरी, भारतीय प्रधानमन्त्री मोदीले सीमा क्षेत्रबाट सैनिकहरू फिर्ता भएपछि शान्ति र स्थिरताको वातावरण बनेको बताए। उनले भने, ‘कजानमा भएको हाम्रो भेटवार्ता निकै उपयोगी रह्यो, जसले हाम्रो सम्बन्धलाई सुधार्न मद्दत गरेको छ। सीमाबाट सैनिकहरू फिर्ता भएपछि शान्ति र स्थिरताको वातावरण बनेको छ।’
प्रधानमन्त्री मोदीले कैलाश मानसरोवर यात्रा र दुई देशबीचको सीधा हवाई उडान पुनः सुरु हुनुले पनि सम्बन्ध सुधारतर्फ अघि बढेको संकेत गरेको बताए। उनले भारत र चीनबीचको सहकार्यले २.८ अर्ब मानिसलाई फाइदा पुग्ने र यसले सम्पूर्ण मानवताको कल्याणको बाटो खोल्ने विश्वास व्यक्त गरे।
गलवान झडपपछिको पहिलो भ्रमण
सन् २०२० को जुनमा भएको गलवान झडपपछि तनावपूर्ण बनेको दुई देशबीचको सम्बन्धका बीच मोदीको यो पहिलो चीन भ्रमण हो।
यो भ्रमणको मुख्य उद्देश्य दुई देशबीचको सीमा विवादलाई कम गर्नु रहेको बताइएको छ। प्रधानमन्त्री मोदी शनिबार साँझ दुई दिने जापान भ्रमण सकेर सिधै चीन पुगेका थिए।
उनले चीनको तियानजिन शहरमा आयोजना भइरहेको सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिनेछन्। यस पटकको एससीओ शिखर सम्मेलनलाई इतिहासकै सबैभन्दा ठूलो मानिएको छ। यहाँ २० भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी छन्।
सम्मेलनमा मध्य एसिया, मध्य पूर्व, दक्षिण एसिया र दक्षिण-पूर्वी एसियाका नेताहरू पनि सहभागी छन्। भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
प्रकाशित: १५ भाद्र २०८२ १५:५३ आइतबार





