१६ श्रावण २०८३ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

राहुलको पक्राउलाई ‘जुगलबन्दी’ भन्दै आपले भन्यो : असली आन्दोलन कमजोर पार्न कांग्रेस-भाजपा मिले

भारतमा नीट परीक्षाको प्रश्नपत्र लीक प्रकरणमा केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा मागिरहेका विद्यार्थीहरूमाथि भएको प्रहरी कारबाहीले नयाँ रूप लिएको छ।

विद्यार्थीमाथि भएको प्रहरी दमनको विरोध गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको निवास (लोक कल्याण मार्ग) बाहिर राजीनामा माग्दै धर्ना दिएका विपक्षी दलका नेता एवं कांग्रेस नेता राहुल गान्धीसहित अन्य शीर्ष नेताहरूको पक्राउलाई लिएर राजनीतिक विवाद चुलिएको छ। यसलाई आम आदमी पार्टी (आप) ले कांग्रेसको यो विरोध प्रदर्शन र गिरफ्तारीलाई नाटकीय भन्दै भारतीय जनता पार्टी (भाजपा) सरकारसँगको ‘जुगलबन्दी’ भएको आरोप लगाएको छ। आप नेताहरूले गान्धीको धर्नाले जन्तरमन्तरमा महिनौंदेखि चलिरहेको ककरोज जनता पार्टी (सीजेपी) नेतृत्वको मुख्य आन्दोलनलाई कमजोर पार्ने उद्देश्य राखेको दाबी गरेका छन्।

सोमबार बिहान सीजेपीको जन्तरमन्तरबाट संसदतर्फको मार्चमा प्रहरीले बल प्रयोग गरेको थियो। उक्त घटनामा विद्यार्थी र प्रहरी दुवै पक्ष घाइते भएका छन्। नेता गान्धीले मंगलबार घाइते विद्यार्थीहरूलाई भेटेका थिए। विपक्षले शिक्षामन्त्री प्रधानसहित गृहमन्त्री अमित शाह र प्रधानमन्त्री मोदीको राजीनामा माग गरिरहेको छ।

यो पनि पढ्नुहोस्

अब शिक्षामन्त्री प्रधानसँगै प्रधानमन्त्री मोदी र गृहमन्त्री शाहले पनि राजीनामा दिनुपर्छ : राहुल गान्धी

मंगलबार दिउँसो लोक कल्याण मार्गस्थित प्रधानमन्त्री निवास नजिकै कांग्रेस नेताहरूले गरेको प्रदर्शन र त्यसपछि प्रहरीले उनीहरूलाई हिरासतमा लिएको घटनाप्रति आम आदमी पार्टीले कडा आपत्ति जनाएको हो। दिल्लीकी पूर्वमुख्यमन्त्री तथा आपकी वरिष्ठ नेता आतिशीले सामाजिक सञ्जालमार्फत कांग्रेस र भाजपाको आलोचना गरेकी छिन्। उनले महिनौंसम्म जन्तरमन्तरमा भइरहेका शान्तिपूर्ण विरोध प्रदर्शनलाई बेवास्ता गर्ने मोदी सरकारले राहुल गान्धीलाई प्रधानमन्त्री निवास बाहिर धर्ना दिन कसरी सहजै अनुमति दियो र एक घण्टा नबित्दै वार्ता कसरी सुरु भयो भन्ने प्रश्न उठाएकी छिन्।

आतिशीले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘यो अचम्मको छ! जन्तरमन्तरमा एक महिनादेखि विरोध प्रदर्शन भइरहेको छ। तर मोदी सरकारले उनीहरूसँग कुरा गर्न अस्वीकार गर्यो। यता राहुल गान्धीलाई प्रधानमन्त्री निवास बाहिर विरोध प्रदर्शन गर्न अनुमति दिएर एक घण्टामै मोदी सरकारले वार्ता सुरु गर्छ। वाह! क्या जुगलबन्दी छ!’ आपका राज्यसभा सांसद संजय सिंह र दिल्ली आप प्रमुख सौरभ भारद्वाजले पनि कांग्रेस नेतृत्वमाथि गम्भीर आरोप लगाएका छन्। संजय सिंहले आरोप लगाउँदै भनेका छन्, ‘जन्तरमन्तरमा चलिरहेको विरोधलाई कमजोर पार्न मोदीले राहुल गान्धीलाई आफ्नै निवासमा विरोध प्रदर्शन गर्न लगाएका हुन्।’

त्यस्तै, सौरभ भारद्वाजले कांग्रेसका शीर्ष नेताहरू जनस्तरका अन्य महत्त्वपूर्ण आन्दोलनहरूमा मौन बस्ने गरेको तर उनीहरूका सामाजिक सञ्जाल ह्यान्डल र निकटस्थहरूले वास्तविक आन्दोलनलाई विषयान्तर गर्न खोजेको बताए। आपका नेताहरूले कांग्रेसको यो प्रदर्शनलाई जनताको ध्यान भड्काउने राजनीतिक स्टन्टको रूपमा चित्रण गरेका छन्।

मंगलबार कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गे, राहुल गान्धी, प्रियंका गान्धी वाड्रा र समाजवादी पार्टीका प्रमुख अखिलेश यादवसहितका नेताहरू प्रधानमन्त्री निवास बाहिर धर्नामा बसेका थिए। प्रहरीले उनीहरूलाई करिब तीन घण्टापछि नियन्त्रणमा लिएको थियो। घटनास्थलमा पुगेका केन्द्रीय मन्त्री जितेन्द्र सिंहले गान्धीलाई धर्ना अन्त्य गर्न आग्रह गरे पनि उनले अस्वीकार गरेका थिए। सिंहले राहुलले सुरुमा संसदमा नीटमा छलफलको माग गरेको र सरकारले उक्त माग स्वीकार गरे पनि राहुल पछि हटेर शिक्षामन्त्रीको राजीनामा मागेको बताएका छन्।

प्रकाशित: ५ श्रावण २०८३ २१:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App