४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

भारतमा ६७ हजार बढी संक्रमित थपिए, अहिलेसम्मकै बढी रुसमा

बितेको २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोनाभाइरसका संक्रमित रुसमा देखिएका छन् भने नेपालको छिमेकी देश भारतमा पनि थप ६७ हजारभन्दा बढी संक्रमित भएका छन्। सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार गत २४ घण्टामा भारतमा ६७ हजार ८४ जना नयाँ संक्रमित भएका हुन्।

यससँगै भारतमा कुल संक्रमितको संख्या चार करोड २४ लाख ७८ हजार ६० पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले  जनाएको छ। सोही अवधिमा अरु एक हजार २४१ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ। 

यससँगै भारतमा अहिलेम्म कुल ज्यान गुमाउनेको संख्या पाँच लाख ६ हजार ५२० पुगेको छ। नयाँ संक्रमितहरुको संख्या निकै कम हुँदै गएपछि अहिले भारतमा संक्रमित अवस्थामै रहेकाहरुको संख्या सात लाख ९० हजार ७८९ पुगेको छ।

सोही अवधिमा एक लाख ६७ हजार ८८२ जना संक्रमणमुक्त भएका छन्। यससँगै अहिलेसम्म संक्रमणमुक्त भएकाहरुको कुल संख्या चार करोड ११ लाख ८९ हजार ७५१ पुगेको छ। यस्तै रुसमा बितेको २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित देखिएका यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सो मन्त्रालयका अनुसार यहाँ बुधबार मात्र कम्तीमा पनि १ लाख ८३ हजार जना कोरोना संक्रमित भेटिएका बताइएको छ। यहाँ गएको आइतबार मात्र पनि एक लाख ८० हजार जनाभन्दा बढी संक्रमित देखिएका थिए। त्यसपछिका केही दिन यहाँ संक्रमितहरु केही घटेकामा बुधबार आएर सबैभन्दा धेरै देखिएका छन्।

ती संक्रमितको संख्या अहिलेसम्मकै २४ घन्टाभित्र देखिएकामा सबैभन्दा बढी हो। यहाँ अहिलेसम्म एक करोड ३३ लाख ३० हजार कोरोना भाइरसका संक्रमित देखिएका पनि बताइएको छ। त्यसैगरी यहाँको सरकारले बताए अनुसार यहाँ बितेको २४ घन्टामा नै कम्तीमा पनि ६६९ जना संक्रमितको ज्यान गएको छ।

यो समेतगरी यहाँ अहिलेसम्म तीन लाख ३७ हजार ३९० जनाको ज्यान गएको छ। रुसमा सबैभन्दा बढी संक्रमित हुने स्थान राजधानी मस्को नै रहेको पनि यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन्। रुसमा पछिल्लो समयमा विकसित भएको ओमिक्रोन भेरियन्टको प्रकोप बढेको पनि बताइएको छ। सरकारले सतर्कता अपनाएको छ तर संक्रमितहरु भने बढ्दो रुपमा रहेको पाइएको छ। 

प्रकाशित: २७ माघ २०७८ ०७:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App