दक्षिण प्रशान्त महासागरको टोङ्गा नजिकै शक्तिशाली भूकम्प गएपछि स्थानीय प्रशासनले तटीय क्षेत्र खाली गराउन चेतावनी जारी गरेको छ। ७.६ म्याग्निच्युडको यो भूकम्पले क्षेत्रीय रूपमा त्रास फैलाए पनि हालसम्म ठूलो क्षति वा सुनामीको खतरा नदेखिएको जनाइएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षण (युनाइटेड स्टेट्स जियोलोजिकल सर्भे) का अनुसार भूकम्प मङ्गलबार साँझ स्थानीय समयअनुसार करिब २३७ किलोमिटर गहिराइमा गएको हो। सामान्यतया सतही भूकम्प बढी महसुस हुने भए पनि यस भूकम्पको गहिराइ बढी भएकाले सतहमा प्रभाव केही सीमित भएको अनुमान गरिएको छ।
भूकम्पको केन्द्र टोङ्गाको दोस्रो ठूलो सहर नियाफुबाट करिब १५३ किलोमिटर पश्चिम समुद्रमा रहेको बताइएको छ। प्रारम्भिक विवरणअनुसार कुनै ठूलो क्षति वा मानवीय हताहतको पुष्टि भएको छैन।
टोङ्गाको राष्ट्रिय विपद् जोखिम व्यवस्थापन कार्यालयले तल्लो तटीय क्षेत्रका बासिन्दालाई तुरुन्तै उच्च स्थान वा भित्री भागमा सर्न निर्देशन दिएको छ। कार्यालयले समुद्र तट, किनार क्षेत्र र न्यून उचाइका स्थानहरूबाट टाढा रहन आग्रह गरेको छ र स्थिति सामान्य नभएसम्म सतर्क रहन भनेको छ।
यद्यपि अमेरिकी भूगर्भ सर्वेक्षणले यस भूकम्पपछि सुनामीको औपचारिक चेतावनी जारी गरेको छैन। हवाईस्थित प्यासिफिक सुनामी चेतावनी केन्द्रले पनि भूकम्प गहिराइमा भएकाले सुनामीको जोखिम नरहेको जनाएको छ।
टोङ्गा पोलिनेसियामा अवस्थित एक द्वीपसमूह हो। यहाँ १७१ टापुहरू रहेका छन् र एक लाखभन्दा बढी जनसङ्ख्या बसोबास गर्छ। अधिकांश मानिसहरू मुख्य टापु टोङ्गा टापुमा बस्छन्। मङ्गलबारको भूकम्प भने भाभाउ टापु समूह नजिक केन्द्रित भएको थियो।
टोङ्गाटापुको नुकुआलोफा सहरस्थित तानोआ इन्टरनेसनल डेटलाइन होटलमा रहेका एक व्यक्तिले भूकम्पका कारण भवन हल्लिएको अनुभव भएको तर अन्य क्षति नभएको जानकारी दिए। ‘पूरै भवन हल्लिएको थियो, तर सबै सुरक्षित छन्’,उनले भने।
प्रहरीले तत्काल औपचारिक प्रतिक्रिया दिएको छैन भने विस्तृत मूल्याङ्कन अझै जारी रहेको जनाइएको छ ।
टोङ्गा ‘प्यासिफिक रिङ अफ फायर’ क्षेत्रमा पर्छ, जहाँ विश्वका अधिकांश भूकम्प र ज्वालामुखी गतिविधि हुने गर्छन्। सन् २०२२ मा यहाँ भएको ज्वालामुखी विस्फोटपछि आएको सुनामीका कारण तीन जनाको मृत्यु भएको थियो।
न्युजिल्यान्डबाट करिब एक हजार ८०० किलोमिटर उत्तरपूर्वमा रहेको टोङ्गा नजिकको यस भूकम्पपछि न्युजिल्यान्डको विपद् व्यवस्थापन निकायले आफ्नो देशमा भने कुनै सुनामी जोखिम नरहेको स्पष्ट पारेको छ।एपी
प्रकाशित: १० चैत्र २०८२ १५:१५ मंगलबार





