१३ श्रावण २०८३ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘विश्वका ६४ करोड ५० लाख मानिस अझै दिर्घकालीन भोकमरीमा’

दिगो विकास लक्ष्य अन्तर्गत सन् २०३० सम्म  ‘शून्य भोकमरी’को लक्ष्य हासिल गर्न अझै ठूलो चुनौती रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।  

संयुक्त राष्ट्रसंघका पाँच विशेषीकृत निकायले हालै सार्वजनिक गरेको ‘विश्व खाद्य सुरक्षा तथा पोषणको अवस्था–२०२६’ नामक प्रतिवेदनमका अनुसार विश्वभर भोकमरीको अवस्था छ । प्रतिवेदनअनुसार सन् २०२५ मा करिब ६४ करोड ५० लाख मानिस दीर्घकालीन भोकमरीको अवस्थामा रहेका थिए । यो संख्या अघिल्लो वर्षको तुलनामा करिब १ करोड ४० लाखले र सन् २०२२ को तुलनामा करिब ४ करोड ३० लाखले घटेको हो । खाद्य सुरक्षाको हिसाबले लामो समयसम्म दैनिक आवश्यक पर्ने क्यालोरी नपुग्ने अवश्थालाई सबैभन्दा गंभीर ‘दिर्घकालीन भोकमरी’ भनिन्छ । यो अवश्थामा कुपोषण, तौल घटने, रोग लाग्ने जोखिम र मृत्युको संभावना रहन्छ ।  

प्रतिवेदनअनुसार सन् २०२५ मा विश्वको कुल जनसंख्याको ७.८ प्रतिशत मानिस यसप्रकारको भोकमरीबाट प्रभावित भएका थिए । यो संख्या सन् २०२४ को ८.१ प्रतिशत र सन् २०२२ को तुलनामा ८.६ प्रतिशतले  कम हो ।  

संयुक्त राष्ट्रसंघका अनुसार विश्वव्यापी स्तरमा सुधार देखिए पनि खाद्य सुरक्षाको अवस्था सबै क्षेत्रमा समान छैन । एसिया तथा ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रमा पछिल्ला वर्षहरूमा सुधार देखिएको छ भने अफ्रिकामा अझै निकै ठूलो चुनौती कायम छ ।  

प्रतिवेदनअनुसार सन् २०२५ मा अफ्रिकामा करिब ३० करोड ९० लाख मानिस भोकमरीबाट प्रभावित थिए । यो संख्या भोकमरीबाट पिडित एसियाका २९ करोड २० लाखभन्दा बढी हो । भोकमरीको दर अफ्रिकामा २०२४ को २०.३ प्रतिशतबाट घटेर २०२५ मा २० प्रतिशतमा आएको छ । तर तीव्र जनसंख्या वृद्धिका कारण प्रभावित मानिसको कुल संख्या उच्च रहेको प्रतिवेदनले उल्लेख गरेको छ ।  

खाद्य असुरक्षाको व्यापक अवस्थालाई हेर्दा सन् २०२५ मा विश्वका करिब  २ अर्ब १० करोड मानिस मध्यम वा गम्भीर खाद्य असुरक्षाको अवस्थामा थिए । यसको अर्थ उनीहरूले पर्याप्त मात्रामा वा गुणस्तरीय खाना पाउन कठिनाइ भोगेका थिए ।  

यसैगरी, क्षेत्रीय असमानता अझै गहिरो रहेको प्रतिवेदनले देखाएको छ । अफ्रिकाको ५६.६ प्रतिशत जनसंख्या खाद्य असुरक्षाबाट प्रभावित छन्  भने एसियामा यस्तो अवस्था २०.३ प्रतिशत, ल्याटिन अमेरिका तथा क्यारिबियन क्षेत्रमा २२.९ प्रतिशत र उत्तरी अमेरिका तथा युरोपमा ८.७ प्रतिशत रहेको छ ।  

स्वस्थ आहार अझै महँगो

प्रतिवेदनले स्वस्थ र पोषणयुक्त खानाको पहुँचलाई पनि मुख्य विषय बनाएको छ । सन् २०२५ मा विश्वभर स्वस्थ आहार लिन आवश्यक न्यूनतम खर्च औसतमा प्रतिव्यक्ति प्रतिदिन ४.२८ अमेरिकी डलर (क्रयशक्ति समायोजन अनुसार) पुगेको छ । यो सन् २०२१ मा ३.४४ डलर र सन् २०१७मा २.९४ डलर थियो ।  

यद्यपि स्वस्थ आहार किन्न नसक्ने मानिसको संख्या घटेको छ । सन् २०२१ मा करिब २ अर्ब ९७ करोड मानिस यस्तो अवस्थामा थिए भने सन् २०२५ मा यो संख्या घटेर २ अर्ब ६९ करोड पुगेको प्रतिवेदनले जनाएको छ ।  

संयुक्त राष्ट्रसंघका अनुसार जलवायु परिवर्तन, द्वन्द्व, ऊर्जा संकट, मल तथा खाद्य वस्तुको मूल्य वृद्धि र मानवीय सहायता घट्दै जानुले भोकमरी न्यूनीकरणमा भएको प्रगतिलाई जोखिममा पारिरहेका छन् ।  

प्रतिवेदन तयार गर्ने संस्थाहरूमा संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन, अन्तर्राष्ट्रिय कृषि विकास कोष, संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ), विश्व खाद्य कार्यक्रम र विश्व स्वास्थ्य संगठन रहेका छन् ।  

प्रकाशित: १० श्रावण २०८३ १७:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App