चिलीमा पूर्वसैन्य शासक अगस्टो पिनोचेको तानाशाहीका पीडितहरूको स्मरणमा आयोजित प्रदर्शनका क्रममा २८४ जना पक्राउ परेका छन्। सरकारले शनिबार यसको जानकारी दिएको हो।
सन् १९७३ देखि १९९० सम्म चलेको पिनोचेको शासनले चिलीमा गहिरो राजनीतिक र सामाजिक घाउ छोडेको थियो।
शासनको अन्त्यपछि पहिलोपटक यस वर्ष उक्त अवधिको सम्झनामा सरकारले कुनै आधिकारिक कार्यक्रम आयोजना नगरेको बताइएको छ।
राष्ट्रपति जोसे एन्टोनियो कास्टले इतिहासलाई मेट्न नसकिने बताउँदै देशले विगतबाट पाठ सिकेर भविष्यतर्फ अघि बढ्नुपर्ने धारणा व्यक्त गरे। कास्टलाई मार्चमा पदभार सम्हालेका पिनोचेपछिका चिलीका पहिलो अति–दक्षिणपन्थी राष्ट्रपतिको रुपमा हेरिन्छ।
पिनोचेको शासनकालमा तीन हजार २०० भन्दा बढी मानिस मारिएका वा बेपत्ता पारिएका थिए भने हजारौँलाई यातना दिइएको वा जेलमा राखिएको थियो।
समाजवादी राष्ट्रपति साल्भाडोर एलेन्डेको सरकारविरुद्ध पिनोचेको नेतृत्वमा ११ सेप्टेम्बर १९७३ मा भएको सैन्य ‘कू’को सम्झनामा चिलीमा हरेक वर्ष प्रदर्शन हुँदै आएको छ।
यस वर्षका प्रदर्शनमा केही प्रदर्शनकारीले दङ्गा नियन्त्रण प्रहरीमाथि लाठी र ढुङ्गा प्रहार गरेका थिए। प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेर उनीहरूलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो।
सार्वजनिक सुरक्षामन्त्री मार्टिन अराउले ‘एक्स’मार्फत बिहीबार र शुक्रबार गरी २८४ जना पक्राउ परेका जानकारी दिए। उनका अनुसार यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ८० प्रतिशत बढी हो।
पक्राउ पर्नेमा १६ विदेशी नागरिक र ३१ नाबालिग पनि छन्। प्रदर्शनका क्रममा १९८ वटा हिंसात्मक घटना भए पनि सर्वसाधारण घाइते नभएको उनले बताए।
सान्टियागोको ‘जेनेरल सिमेट्री’मा भएको प्रदर्शन सबैभन्दा ठूलो थियो। त्यहाँ एलेन्डे परिवारको समाधिस्थल रहेको छ र र्यालीमा वामपन्थी पूर्वराष्ट्रपति गाब्रियल बोरिक पनि सहभागी थिए।
राष्ट्रपति भवन ‘ला मोनेडा प्यालेस’ तथा ‘नेशनल स्टेडियम’मा पनि स्मृति कार्यक्रम आयोजना गरिए।
पिनोचेको शासनकालमा नेशनल स्टेडियमलाई बन्दी बनाउने र यातना दिने स्थलका रूपमा प्रयोग गरिएको थियो।
प्रकाशित: २८ भाद्र २०८३ १४:०५ आइतबार


-600x400.jpg)


