पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ब्रिक्स प्लस देशहरूको नयाँदिल्लीमा जारी शिखर सम्मेलनका क्रममा पारित १४० बुँदे प्रस्ताव तथा चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच भएको द्विपक्षीय वार्ताका संकेतहरू सकारात्मक रहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत भट्टराईले नेपालजस्तो लामो संक्रमणबाट गुज्रिरहेको र दुई ठूला छिमेकी भारत र चीनको बीचमा रहेको अल्पविकसित देशले अब कुनै द्विविधामा नरही बदलिँदो क्षेत्रीय परिस्थितिबाट अधिकतम लाभ लिने ढंगले अघि बढ्नुपर्ने बताएका हुन्।
'ब्रिक्स प्लस देशहरूको दिल्लीमा भैरहेको शिखर-सम्मेलनको क्रममा पारित १४०-बुँदे प्रस्ताव र चीनियॉं राष्ट्रपति तथा भारतीय प्रधानमन्त्री वीच भएका द्विपक्षीय वार्ताका संकेतहरू निकै सकारात्मक छन्,' उनले भनेका छन्, 'नेपाल जस्तो लामो संक्रमणकालबाट गुज्रिरहेको र दुई ठूला छिमेकी भारत र चीनको बिचमा रहेको 'अति कम विकसित' देश नेपालले अब कुनै द्विविधामा नरही यसबाट अधिकतम लाभ लिने ढंगले अघि बढ्नुपर्छ।'
उनले विगतमा भारत र चीनबीचको दूरीमा खेलेर क्षणिक सत्तास्वार्थ पूरा गर्न खोज्ने नेपाली शासकहरूको प्रवृत्तिबाट पाठ सिक्नुपर्ने उल्लेख गरेका छन्। यस्तो अल्पदृष्टिका कारण नेपाल अल्पविकास र परनिर्भरताको दुष्चक्रमा फस्दै आएको उनको भनाइ छ।
उनले भने, 'हामीले हिजोको भारत र चीन वीचको दूरीमा खेलेर आफ्नो क्षणिक सत्तास्वार्थ पूर्ति गर्न खोज्ने र अन्ततः देशलाई अल्पविकास र परनिर्भरताको दुष्चक्रमा फसाइराख्ने अल्पदृष्टि भएका हाम्रा शासकहरूको गल्तीबाट सिक्नैपर्छ।'
भट्टराईले चीनियाँ राष्ट्रपतिले द्विपक्षीय वार्ताका क्रममा प्रयोग गरेको ‘दुवै पक्षले रणनीतिक दृष्टिकोणबाट द्विपक्षीय सम्बन्धको दीर्घकालीन विकासलाई ध्यानमा राख्नुपर्ने’ आशयको अभिव्यक्ति र भारतको अगुवाइमा सर्वसम्मतिले पारित भएको लामो प्रस्तावको बहुआयामिक दिशालाई नेपालले गम्भीरतापूर्वक बुझ्नुपर्ने बताएका छन्।
उनका अनुसार अबको युगमा उच्च तथा दिगो आर्थिक समृद्धि र चातुर्यपूर्ण ‘सफ्ट पावर’ हासिल नगरी नेपालजस्ता सापेक्ष रूपमा साना र कमजोर देशले विश्वमा सम्मानजनक उपस्थिति कायम गर्न सक्दैनन्।
'अबको युगमा उच्च तथा दिगो आर्थिक समृद्धि र चातुर्यपूर्ण ‘सफ्ट पावर’ हासिल नगरी हामी जस्ता सापेक्ष रूपले साना र कमजोर देशले विश्वमा सम्मानजनक उपस्थिति कायम गर्नै सक्दैनौं,' उनले भने।
नेपालले आगामी दिनमा भारत र चीनबीच सम्भावित बढ्दो ‘प्रतिस्पर्धात्मक सहकार्य’बाट लाभ लिनुपर्ने उनको सुझाव छ। त्यसका लागि कुशल कूटनीतिक प्रयासमार्फत नेपाललाई दुई छिमेकीबीच ‘गतिशील सेतु’ बनाउने र अन्ततः ‘शान्ति राष्ट्र’मा रूपान्तरण गर्ने योजनाबद्ध कार्यको सुरुवात तत्काल गर्नुपर्ने उनले बताएका छन्।
‘अन्यथा दुई हात्ती लड्दा पनि मिल्दा पनि घाँसकै नाश भन्ने हाम्रो परम्परागत लोकोक्तिको दुष्परिणाम भोग्न हामी अभिशप्त हुनेछौं,’ भट्टराईले भनेका छन्।
उनले वर्तमान युवा सत्ताधारीहरूको ध्यान समयमै यसतर्फ जानुपर्नेमा समेत जोड दिएका छन्।
प्रकाशित: २८ भाद्र २०८३ १४:०५ आइतबार





