विश्वकै ठुलो एआई चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख जेन्सेन हुआङ र चीनका लागि जासुसी गरेको आरोप लागेकी एक महिलाबिचको सम्बन्धले अमेरिकामा चासो बढाएको छ।
अमेरिकी गुप्तचर निकायले ती महिलाको चिनियाँ गुप्तचर संस्थासँग सम्बन्ध रहेको आशंका गरेको द न्युयोर्क टाइम्सले जनाएको छ।
सिंगापुरको डाटा सेन्टर कम्पनी मेगास्पिडकी पूर्व कर्मचारी एलिस हुआङ र जेन्सेनबिच निकट सम्बन्ध रहेको अमेरिकी अधिकारीहरूले पत्ता लगाएका थिए। सन् २०२४ जुनमा ताइवानको ताइपेईमा आयोजित प्रविधि प्रदर्शनीपछि उनीहरू एक बारमा सँगै देखिएका थिए। त्यस्तै, सन् २०२५ मेमा पनि उनीहरू एक रेस्टुरेन्टबाट सँगै बाहिर निस्किएका थिए।
अमेरिकी अधिकारीहरूलाई एलिसले जेन्सेनसँगको सम्बन्ध प्रयोग गरेर अमेरिकाको अत्याधुनिक एआई चिप प्रविधि र राष्ट्रपति डोनाल्ड ट्रम्पको चीनसम्बन्धी नीतिबारे गोप्य सूचना संकलन गरेको हुन सक्ने आशंका छ। तर जेन्सेनले उनलाई गोप्य सूचना दिएको प्रमाण सार्वजनिक भएको छैन।
अमेरिकी अधिकारीहरूले मेगास्पिड र यससँग जोडिएका कम्पनीले अमेरिकाको प्रतिबन्ध छल्दै चीनलाई अत्याधुनिक चिप उपलब्ध गराएको हुन सक्ने भन्दै अनुसन्धान गरिरहेका छन्। सन् २०२४ को अन्त्यतिर मलेसियामा रहेको मेगास्पिडको डाटा सेन्टर जाँच गर्दा एनभिडियाका चिप भएका नखोलिएका बाकस फेला परेका थिए। त्यसपछि ती चिप मलेसियामा प्रयोग नगरी चीन पठाइएको हुन सक्ने आशंका गरिएको थियो।
सन् २०२४ जुनदेखि सन् २०२६ फेब्रुअरीसम्म मेगास्पिडसँग सम्बन्धित मलेसियाली कम्पनीले करिब ४.८ अर्ब अमेरिकी डलर बराबरका अत्याधुनिक चिप खरिद गरेको थियो। ती चिप चीन पुर्याइएको हुन सक्ने अमेरिकी अधिकारीहरूको आशंका छ। मेगास्पिडले आफ्ना उपकरण चिनियाँ कम्पनी अलिबाबासहितका ग्राहकलाई भाडामा दिने गरेको पनि रिपोर्टमा उल्लेख छ।
रिपोर्टअनुसार अमेरिकी राष्ट्रपति ट्रम्पलाई यस विषयमा करिब एक वर्षअघि नै जानकारी गराइएको थियो। तर एनभिडियाको व्यापार र अमेरिकी अर्थतन्त्रमा असर पर्न सक्ने भन्दै तत्काल कडा कदम चालिएन।
यसैबिच, ट्रम्प प्रशासनले चीनमा एनभिडियाका केही चिप बेच्न अनुमति दिँदै त्यसबाट प्राप्त आम्दानीको २५ प्रतिशत अमेरिकी सरकारलाई दिने व्यवस्था गरेको थियो।
एनभिडियाका प्रवक्ता जोन रिजोले भने जेन्सेन र एलिसबिचको भेट सामान्य व्यावसायिक भेटघाट भएको बताएका छन्। उनका अनुसार एनभिडियाका प्रमुखले हरेक वर्ष विश्वभरका हजारौं व्यावसायिक व्यक्तिसँग भेट्ने गर्छन्।
उनले मेगास्पिडजस्ता ग्राहकलाई सामान्य व्यावसायिक जानकारी मात्रै दिइने र कुनै गोप्य प्रविधि वा राष्ट्रिय सुरक्षासँग सम्बन्धित सूचना नदिइएको बताएका छन्। मेगास्पिडले पनि अनुसन्धानमा अमेरिकी सरकारलाई सहयोग गर्ने जनाएको छ। चिनियाँ दूतावासले जासुसीसम्बन्धी आरोप अस्वीकार गरेको छ।
प्रकाशित: १३ कार्तिक २०८३ ०८:०१ शुक्रबार





