११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फ्लोएडको अन्त्येष्टिमा सहभागीले भने, “उहाँ विश्वलाई नै परिवर्तन गर्ने प्रेरणा हो”

अमेरिकामा हत्या गरिएका अश्वेत नागरिक जर्ज फ्लोएडको मंगलबार अन्त्येष्टि गरिएको छ। उनका इष्टमित्र, छिमेकी र समर्थकहरुले अन्त्येष्टि समारोहमा उनलाई “महान फ्लोएड” भन्दै स्मरण गरेका थिए।

एक जना स्वेत प्रहरीले अश्वेत फ्लोएडलाई घाँटी थिचेर हत्या गरेको देखाउने भिडियो सार्वजनिक भएकाले उनको हत्या भएको दाबी गरिएको छ। होस्टन चर्चमा भएको अन्त्येष्टि समारोहमा झण्डै पाँच सय जना शुवेच्छुक तथा इष्टमित्रहरु सहभागी भएका थिए। उनीहरु सवैले कोरोनाभाइरसको संक्रमणबाट जोगिनका लागि मुखमा मास्क लगाएका थिए।  

हत्या भएको झण्डै दुई हप्तापछि उनको अन्त्येष्टि भएको हो। उनको हत्या भएको र अमेरिकामा अश्वेत नागरिकहरुलाई यस्तै अन्याय पटक पटक हुने गरेको भन्दै आन्दोलन भएको थियो। उनीहरुले यस्ता घटना फेरी फेरी दोहोरिन नदिन र फ्लोएडलाई न्याय दिन माग गरेका थिए।  

फ्लोएडको हत्याको विरुद्धमा प्रदर्शनमा उत्रिएकाहरुले अहिलेको आन्दोलनले विश्वव्यापी रुप लिएको र आगामी दिनमा यस्ता घटना हुन नदिन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्। अन्त्येष्टिमा सहभागीहरुको भनाई थियो, उनको हत्याका विरुद्धमा भएको आन्दोलनले यस्ता घटना न्युनिकरणका लागि सहयोग गर्ने विश्वास गर्न सकिन्छ।

उनीहरुले ४६ वर्षीय फ्लोएड हत्या काण्ड र त्यसपछिको आन्दोलनले विश्वलाई नै परिवर्तन गर्ने र प्रेरणाको श्रोत हुने पनि बताएका छन्।उनको मिनियापोलिस स्थित प्रहरी कार्यालयमा हिरासतमा रहेको बेला निधन भएको थियो। उनको हत्या सम्वन्धी भिडियोमा उनलाई आठ मिनेट ४६ सेकेण्डसम्म घाटी थिचिएको देखाइएको छ।  

घाटी थिचिरहदाँ आफुलाई श्वास फेर्न गाह्रो भएको भन्दै छट्पटाई रहेको भिडियोले आन्दोलनकारीलाई थप आन्दोलित बनाएको उनका समर्थकहरुको भनाई छ।अमेरिका बाहेक अन्य धेरै देशमा उनको हत्याका विरुद्धमा आन्दोलन भएको थियो भने अमेरिकामा मात्रै दर्जनभन्दा बढी मानिसको यही आन्दोलनका क्रममा मृत्यु भएको छ।

आन्दोलन चर्किएकाले अमेरिकाका ४० भन्दा बढी सहरमा कफ्र्यु लगाउनु परेको थियो। प्रदर्शनकारीले कफ्र्यु समेत तोडेर प्रदर्शन गरेका थिए। प्रहरी र प्रदर्शनकारीका बीचमा भएको झडपका क्रममा दर्जनौ घाइते भएका थिए भने सयौँ गिरफ्तार भएका थिए।

प्रकाशित: २८ जेष्ठ २०७७ १०:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App