१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इटालीमा एक तिहाई जनसंख्यालाई अलग पारियो

रोम – इटालीको उत्तरी क्षेत्रमा आइतबार एक करोड ५० लाखभन्दा बढी मानिसलाई क्वारेन्टाइनमा बस्न त्यहाँको सरकारले आदेश दिएको छ। कोरोना भाइरसको संक्रमण रोक्न यो कदम चाल्न बाध्य भएको सरकारले जनाएको छ।

इटालीका प्रधानमन्त्री ज्युसेप कोन्टेले ट्विट गर्दै भेनिस, मिलानलगायत क्षेत्रमा कम्तीमा एक महिनाका लागि आवागमनमा कडाई गर्ने योजनामा हस्ताक्षर गरेको बताएका छन्। प्रधानमन्त्री कोन्टेको आदेशमा मानिसको भिडभाड हुने क्षेत्र (सिनेमा घर, संग्रहालय, थिएटरलगायत) बन्द गर्न भनिएको छ।

‘कोरोना भाइरसकै कारण नयाँ आदेशलाई अन्ततः अनुमोदन गरेको छु,’ कोन्टेले भने। इटालीका संचार माध्यममा उत्तर इटालीमा आवागमन निषेध गरिएको खबर छापेका छन्। त्यहाँ कोरोना भाइरसकै कारण दुई सय ३० जनाको ज्यान गइसकेको छ। चीनबाहिर यति ठूलो संख्यामा मानिसको मृत्यु भएको इटालीमै हो।

विश्व बैंकका अनुसार जापान पछि इटालीमा विश्वमै बुढ्यौली उमेरका मानिसको बसोबास सर्वाधिक बढी छ। र, नयाँ कोरोना भाइरसबाट वृद्धहरू गम्भीर बिरामी हुने सम्भावना बढी देखिन्छ। ‘स्थगित गर्नै नसकिने ‘गम्भीर’ कारण भएमा, अन्य जरुरी काम वा पारिवारिक मामिलाहरू भएमा बाहेक मानिसहरूलाई क्वारेन्टाइन क्षेत्रमा प्रवेश गर्न वा छाड्न अनुमति दिइने छैन,’ इटालीको कोरियर डेला सेरा पत्रिकाले लेखेको छ।

यसबाट इटालीको कूल ६ करोड जनसंख्याको एक तिहाईलाई असर पार्नेछ। यी ठाउँहरूमा संग्रहालयहरू, रात्रि क्लब, जिमखाना र क्यासिनोहरू बन्द गरिनेछन्। सकेसम्म मानिसलाई घरभित्रै बस्ने सल्लाह दिइएको बताउँदै उक्त पत्रिकाले यी प्रतिबन्धहरू आगामी अप्रिल ३ सम्म लागू हुने जनाएको छ।

यी क्षेत्रभन्दा बाहिरका व्यक्तिलाई आ–आफ्ना घर फर्कन दिइनेछ। बारहरू र रेस्टुरेन्टहरूमा ग्राहकहरू एकअर्कासँग करिब एक मिटर टाढै रहने प्रबन्ध सुनिश्चित गरेमा खुला राख्न अनुमति दिइनेछ। इटालीमा गरिएको यो प्रबन्ध चीनको हुबेई प्रान्तको जस्तै छ। हुबेईको राजधानी वुहानमा भाइरसको प्रकोप देखिएपछि यहाँ जनवरीको अन्त्यदेखि पूरै सहरलाई अन्य क्षेत्रबाट अलग राखिएको छ।

प्रकाशित: २६ फाल्गुन २०७६ ०१:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App