१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

तालिबान युद्धबन्दी लडाकूलाई अहिल्यै छाड्न सकिन्न : अफगान राष्ट्रपति

काबुल – अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले सात दिने आंशिक युद्धविराम जारी रहने बताएका छन्। तर, उनले अमेरिका–तालिबानबीच सम्पन्न नयाँ सम्झौताको प्रमुख अंशका रूपमा रहेको हजारौं तालिबानी विद्रोही बन्दीहरूलाई रिहा गर्ने निर्णय अफगान सरकारलाई अस्वीकार्य रहेको बताए।

शनिबार दोहामा अमेरिका र तालिबानबीच सम्पन्न ऐतिहासिक सम्झौतामा हस्ताक्षर हुनुअघिको एक हप्तासम्म ‘हिंसामा कमी’ आएको थियो। सम्झौतामा मुख्यरूपमा अमेरिकी समेत सबै विदेशी सैनिक १४ महिनाभित्र स्वदेश फर्किने उल्लेख छ। यसको बदलामा तालिवानले धेरै प्रतिज्ञाहरूलाई सम्मान गर्नुपर्नेछ भने अझ विस्तृत शान्ति सम्झौताका लागि काबुलसँग वार्ता गर्नु पर्नेछ। ‘पूर्ण युद्धविरामको अवस्था सिर्जना गर्न हिंसामा कमी आउनु पर्नेछ,’ काबुलमा आयोजित पत्रकार सम्मेलनमा घानीले भने।

‘जनरल स्कट मिलरले तालिवानलाई यही गर्न सल्लाह दिनुभएको छ। यो अवस्थाले निरन्तरता पाउने अपेक्षा गरिएको छ,’ अफगानिस्तानमा तैनाथ विदेशी सेनाका संयोजक अमेरिकी कमाण्डरतर्फ देखाउँदै राष्ट्रपति घानीले भने। तर, शान्तिको मार्गमा गतिरोध ल्याउन सक्ने एउटा बुँदातर्फ ध्यानाकर्षण गर्दै घानीले सम्झौताका शर्तहरु निकै विवादस्पद रहेको बताए। सम्झौताको एउटा धारामा तालिबानले बन्धक बनाएका १ हजार सरकारी सैनिक र सरकारी कारागारमा थुनिएका करिब ५ हजार तालिबानी लडाकुलाई रिहा गर्नुपर्ने उल्लेख छ।

‘पाँच हजार तालिबानी बन्दीलाई रिहा गर्ने प्रतिबद्धतामा अहिल्यै सहमत हुन सकिन्न,’ घानीले भने, ‘यो अफगानिस्तानका जनताको अधिकार र आत्मनिर्णय हो। यस विषयलाई अन्तर–अफगान वार्ताको समयमा एक एजेन्डा बनाउनुपथ्र्यो र वार्तामा यसलाई पूर्वसर्तका रूपमा लिन सकिन्न।’  ‘कुनै पनि बन्दी रिहाई गर्ने कुरा अमेरिकी अधिकारको विषय होइन, यो अफगान सरकारको अधिकार क्षेत्रभित्रको कुरा हो,’ उनले भने। वार्ता पनि अमेरिका–तालिबानबीचको सम्झौताको एक हिस्साको रूपमा स्वीकार गरिएको छ।

तालिबानीले अहिलेसम्म घानीको प्रशासनसँग वार्ता गर्न अस्वीकार गरिरहेको थियो। उनीहरूले अफगान सरकारलाई अमेरिकी कठपुतली शासनको रूपमा लिएका थिए। राष्ट्रपति घानीको बन्दी रिहाइसम्बन्धी प्रश्नले आगामी दिनहरू निकै कठिन हुने संकेत गरेका छन्। महिनौं ढिलाई गरेर गत साता घोषणा गरिएको घानीको राष्ट्रपति पदमा पुनः विजयलाई अमेरिकाले अझै मान्यता दिएको छैन भने मुख्य प्रतिस्पर्धी अब्दुल्ला अब्दुल्लाले पनि चुनावमा धाँधली भएको आरोप लगाउँदै घानीलाई अस्वीकार गर्ने यसअघि नै घोषणा गरिसकेका छन्।

प्रकाशित: १९ फाल्गुन २०७६ ०२:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App