coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बलात्कारीलाई कठोर सजाय माग

हैदराबादकी २७ वर्षीया पशु चिकित्सकको बलात्कारपछि हत्याको विरोधमा राजधानी नयाँ दिल्लीमा निकालिएको -यालीका सहभागी। तस्बिर : एजेन्सी

नयाँ दिल्ली, (एजेन्सी) – भारतको हैदराबाद सहरमा २७ वर्षीया महिला पशु चिकित्सकलाई बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई कडा कारबाहीको माग गरिएको छ।

भारतीय सासंद जया बच्चनले सोमबार संसद्मा बोल्दै बलात्कारमा संलग्न व्यक्तिलाई ‘सार्वजनिकस्थलमा राखेर मार्नुपर्ने’ बताएकी छन्।

सामूहिक बलात्कारपछि पशु चिकित्सक हत्याको विभिन्न राजनीतिक दलका कैयौं सांसदले पनि निन्दा गरेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ। गत बुधबार साँझ स्थानीय समयानुसार ६ बजेतिर २७ वर्षीया ती महिला आफ्नो स्कुटरमा घरबाट निस्किएकी थिइन्। केही समयपछि उनले आफ्नो स्कुटर पन्चर भएको र एक ट्रक ड्राइभर सहयोग गर्न अघि सरेको फोनबाट बहिनीलाई जानकारी दिएकी थिइन्। त्यसपछि सम्पर्कविहीन भएकी ती पशु चिकित्सकको जलेको शरीर फेला परेपछि भारतभर विरोध प्रदर्शन भइरहेका छन्।

महिलाविरुद्ध हिंसाका विभिन्न चर्चित घटनामा सार्वजनिक रूपमा चर्को आक्रोश देखिए पनि भारतमा बलात्कार तथा हिंसाका घटना रोकिएका छैनन्। भारतीय सांसदले मंगलबार सदनमा महिलाका निम्ति देश सुरक्षित बनाउन सरकारले के गरिरहेको छ भन्ने प्रश्न समेत गरेका थिए।

बलिउडकी पूर्वनायिका तथा हाल भारतीय संसद्का सदस्य जया बच्चनले सांसदको तर्फबाट महिला सुरक्षाको प्रश्न र बलात्कारी तथा हत्यारालाई कडा कारबाहीको मागको नेतृत्व गरेकी थिइन्।

भारतको दक्षिणी राज्य तामिलनाडुकी एक सांसद विजिला सात्यनान्थले देश महिला तथा बालबालिकाका निम्ति सुरक्षित नभएको भन्दै सरकारको कडा आलोचना गरेकी थिइन्। उनले ‘पशु चिकित्सकलाई बलात्कारपछि हत्या गर्नमा संलग्न चारजना अपराधीलाई डिसेम्बर ३१ अगावै फाँसी दिनुपर्ने’ भन्दै ढिलो न्याय दिनु भनेको न्याय नदिनु हो भनेकी छन्।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले यो घटना सम्पूर्ण देशका लागि लज्जास्पद भएको र यसबाट सबैको मन दुखेको बताएका छन्। साथै, यस घटनाको निन्दा गर्ने आफूसँग उचित शब्द नभएको पनि उनले बताएका छन्।

सन् २०१२ को डिसेम्बर महिनामा दिल्लीमा एक महिलाको बसभित्र भएको सामूहिक बलात्कार र यसपछिको हत्याको प्रयासको घटनापछि ल्याइएका कडा कानुनले महिलाविरुद्धका अपराध कम गराउने अपेक्षा गरिएको भए पनि त्यसो हुन नसकेको उनको भनाइ छ।

प्रकाशित: १८ मंसिर २०७६ ०३:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App