७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

एकै दिन २५ को मृत्यु

बग्दाद – इराकमा एकै दिन २५ भ्रष्टाचारविरोधी प्रदर्शनकारीको मृत्यु भएको छ। भ्रष्टाचारको विरोधमा प्रदर्शनमा उत्रिएका २५ प्रदर्शनकारीको एकै दिनमा मृत्यु भएपछि प्रधानमन्त्री अदेल अब्देल मेहदीले दक्षिण इराकको जिम्मेवारी दिँदै कमान्डरको रूपमा खटाएका सैनिक अधिकृतलाई जिम्मेवारीबाट हटाउँदै पदबाटसमेत बर्खास्तका लागि सिफारिस गरेका छन्। बर्खास्त गरिएका कमान्डरलाई बिहीबार नै नासिरियाका लागि खटाइएको छ।

इराकी सेनाका प्रमुखसमेत रहेका प्रधानमन्त्री अब्देल मेहदीले बर्खास्तमा परेका जमिल सुमारीलाई नासिरियामा पठाउँदै दक्षिणी इराकका सहरी इलाकामा सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएका छन्। इराकी टेलिभिजनले प्रधानमन्त्री कार्यालयको सूचनालाई उद्धृत गर्दै सुमारीलाई जिम्मेवारीबाट हटाइसकिएको उल्लेख गरेको छ।

इराकी राज्य धिकारको राजधानी नासिरिया प्रवेश गर्ने तीन पुल प्रदर्शनकारीले कब्जामा लिएपछि सुरक्षाकर्मीसँग भएका झडपका क्रममा नासिरियामा एकै दिनमा २५ जनाको मृत्यु भएको नाम उल्लेख नगर्ने शर्तमा एक सैनिकले फ्रान्सेली समाचार एजेन्सी एएफपीलाई बताए। घटनामा सय भन्दाबढी प्रदर्शनकारी घाइते भएका छन्। झडपमा कैयौं सुरक्षाकर्मीसमेत घाइते भएका छन्।

कफ्र्यूको अवज्ञा गर्दै हजारौं नागरिकले मृत शरीरलाई सहर घुमाएपछि उनीहरूको अन्त्येष्टि गरिएको छ। प्रदर्शनकारीले नासिरियास्थित इरानी वाणिज्य दूतावासलाई नाटकीय रूपमा आगजनी गरेका छन्। सन् २००३ मा अमेरिकी नेतृत्वमा इराकमाथि सैनिक हस्तक्षेप गर्दै तत्कालीन शासक सद्दाम हुसेनलाई अपदस्थ गरेपछि राजधानी बग्दाद र दक्षिणमा विरोध र आन्दोलनमार्फत इराकी जनताले उनीहरूको सरकार र इरानस्थित त्यसका सहयोगीविरूद्ध प्रदर्शन गर्दै आएका छन्।

बुधबार राति प्रदर्शनकारीले इराकी राजनीतिमा तेहरानको प्रभावप्रति प्रदर्शन गर्दै पवित्र इस्लामिक सहर नाजाफमा रहेको वाणिज्य दूतावासमा आगजनी गरेका थिए। उनीहरूले आगजनीपछि इराकबाट इरानी हस्तक्षेप अन्त्यको घोषणा गर्दै इराकको विजय भएको भन्ने भावका नाराहरू लगाएका थिए।

यसैबीच धिकारका सहरी क्षेत्रमा प्रदर्शनकारी हिंसात्मक रूपमा उत्रिएपछि बिहीबार मध्याह्नदेखि अर्को सूचना नहुँदासम्मका लागि सरकारले कफ्र्यू आदेश जारी गरेको छ। अक्टोबरको सुरुदेखि नै राजधानी बग्दादलगायतका मध्य तथा दक्षिणी क्षेत्रमा ठूलो सहभागितासहितको प्रदर्शन जारी छ। प्रदर्शनकारीले इराकको समग्र सुधार, भ्रष्टाचारप्रति जवाफदेहीता, सार्वजनिक सेवामा सुधार तथा रोजगारीलगायतका मागसहित करिब दुई महिनादेखि निरन्तर आन्दोलन गरिरहेका छन्।

प्रकाशित: १३ मंसिर २०७६ ०२:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App